विराटनगर ।एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट इतर पक्षले पदाधिकारीमा संस्थापन पक्षलाई ‘क्लिन स्वीप’ गरेको छ ।
अन्तिम मतपरिणाम अनुसार पार्टी कार्यालय पाञ्चालीमा शुक्रबार साँझ मतगणना सम्पन्न हुँदा इतर पक्षको प्यानलनै विजयी भएको हो ।
अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझालाई ३९ मतान्तरले पराजित गरे। राईले ४ सय ४६ मत पाएका छन् । भने ओझा ४ सय ७ मत प्राप्त गरे । राई र ओझा दुवै जना मोरङको सुन्दरहरैँचाका बासिन्दा हुन् । राई जिल्ला समन्वय समिति मोरङका प्रमुख र ओझा कोशी प्रदेशका पूर्वप्रदेशसभा सदस्य हुन् ।
उपाध्यक्षमा सागर थापा ४ सय २२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत मात्रै पाइन् । थापा विराटनगर र लिम्बू केराबारीका बासिन्दा हुन् । त्यस्तै, सचिवमा सोमराज थापा विजयी भएका छन् । थापाले ४ सय ६१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रविन थापा ३ सय ६८ मतमा सीमित भए । उपसचिवमा भारी मतका साथ सन्तोष वान्तवा निर्वाचित भएका छन् । उनले ४ सय ९० मत ल्याए । वान्तवाका प्रतिस्पर्धी ईर्जालाल राजवंशीले ३ सय ११ मत प्राप्त गरे । महिला उपसचिवमा उषा झा निर्वाचित भइन् । उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन् ।
एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएको श्रेष्ठले बताए ।
पार्टीको जिल्ला नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा सुरु भएको पदाधिकारीतर्फको मतगणना शुक्रबार साँझ सकिएको छ ।
पदाधिकारीतर्फको मतगणना मात्रै सकिएको हो । सदस्यहरुको मतगणना जारी छ । सदस्यहरुको मतगणना शनिबार बिहानसम्ममा सम्पन्न गर्ने तयारी छ । ५ पदाधिकारीसहित एमाले मोरङको जिल्ला कमिटी १ सय ६५ सदस्यीय हुनेछ ।
एमाले मोरङमा इतर पक्षको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । पार्टीको कोशी प्रदेश अधिवेशनमा घनश्याम खतिवडासँग पराजित भएपछि उनले एमालेभित्र अर्को समूहको नेतृत्व गरिरहेका छन् ।
संस्थापन पक्षलाई भने केन्द्रीय उपाध्यक्ष गुरु बराललगायतका नेताको साथ थियो । एकाएक इतर पक्ष नेतृत्वमा आएपछि संस्थापन पक्ष ठूलो धक्का बेहोर्न बाध्य भएको छ ।