विराटनगर । मोरङको उर्लाबारीसहित पूर्वमा मोवाइल चोर्ने भारतीय गिरोहको पहिचान भएको छ ।
नेपाल–भारतका मोवाइल पसल ‘टार्गेट’ गरेर चोर्ने गिरोहसम्म दुई देशका सुरक्षा अधिकारीको संयुक्त पहल सार्थक भएको हो । चोरी भएका मोवाइलहरु भारतबाट प्रहरीले बरामद गरिरहेको जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजन अधिकारीका अनुसार गत माघ २१ गते मोरङको उर्लाबारी–५ स्थित योगराज कार्कीले सञ्चालन गरेको मोवाइल वल्डमा चोरी गर्ने गिरोह भारतमा पक्राउ परेको छ । सटर फोडेर झण्डै एक करोड मूल्य बराबर मोवाइल चोरी भएको थियो । चोरी भएकामध्ये २० थान मोवाइल बरामद भएको छ ।
घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विशेष अनुसन्धान टोलि परिचालन गरेको थियो । डिआईजी अधिकारीका अनुसार त्यो टोलि भारतीय प्रहरीसँगको समन्वयमा घटना गराउने व्यक्तिसम्म पुगेको हो । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीले घटनामा संलग्नलाई पक्राउ समेत गरिसकेको छ ।
‘घटनामा संलग्नको पहिचान, उनीहरुलाई कानुनी दायरामा ल्याउने, चोरीको वस्तु बरामद गर्ने र दशी प्रमाणहरु संलकन गर्ने काममा नेपाल प्रहरी नजिक पुगेको छ’ डिआईजी अधिकारी भने–उनीहरुलाई भारतमा अनुसन्धान गर्ने र मुद्दा चल्नेछ, यता नेपालमा समेत उनीहरु विरुद्ध अनुसन्धान हुन्छ । संलग्नहरु भारतमा पक्राउ परेपनि पारस्परिक सहायतासम्बन्धि कानुनअष्पस्टताका आधारमा उनीहरुलाई नेपालमा ल्याउन सक्ने संभावना भने छैन । तर, उनीहरुले कहाँकहाँ, कसरी घटना घटाए भन्ने अनुसन्धानका लागि नेपाल प्रहरीको टोलि भारतसम्मै पुगेको छ ।
भारतमा पक्राउ परेका उनीहरुले संगठित समूह बनाएर दुवै देशमा चोरी गर्दै आएको खुलेको छ, डिआईजी अधिकारीले भने–यसको अन्तिम निष्कर्षमा भारत र नेपालको प्रहरी पुगेको छ, मोवाइलहरु अझै बरामद भईरहेका छन् । नेपाल प्रहरीको टोलि भारत जाँदा पीडितलाई समेत सँगै लिएर गएको थियो । मोरङ उर्लाबारी–५ स्थित मोवाइल वल्डका सञ्चालक कार्कीले नयाँ तथा पुराना मोवाइलको कारोबार गर्ने गरेका कारण पहिचानका लागि पनि लगिएको थियो । पीडितसँग भएका लगत र बरामद भएको मोवाइलको विवरण समेत म्याचिङ्ग गरेर संलग्नहरु यकिन गरिएको थियो । नेपाल प्रहरीको विशेष अनुसन्धान टोलिले घटनाको विषयमा अनुसन्धान गरिसकेपछि यहाँ समेत मुद्दा दर्ता हुनेछ । कुनै दिन उनीहरु नेपालमा रहेको अवस्थामा पक्राउ गरेर अदालतमा उपस्थित गराईने छ ।
डिआईजी अधिकारीका अनुसार यो घटनामा अनुसन्धानका लागि प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारी टोलि खटाइएको छ । संलग्नहरु पक्राउ परेपछि उनीहरुको बयानबाट खुल्न आएका ३२ थान मोवाइल बरामद गरिएको छ । जसमध्ये उर्लाबारीको मोवाइल वल्डका २० थान, झापा दमक १ थान, नवरपरासीबाट चोरी भएका ११ थान रहेका छन् ।
एउटै टिमले नेपालका धेरै मोवाइल पसललाई टार्गेट गरेर चोरी गर्दै आएको हो । चार महिना अगाडी झापाको दमकमा समेत मोवाइल पसल चोरी भएको थियो । पूर्वका जिल्लाका शहरहरुमा मोवाइल पसलबाट ठूलो चोरी गर्ने गिरोह यहि रहेको निष्कर्ष प्रहरीको छ ।