विराटनगर । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मानव सेवा आश्रम विराटनगरमा रहेर सेवारत पार्वती तिवारी सम्मानित भएकी छन् ।
सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीले उनलाई सम्मान गरेको हो ।
तिवारी लामो समयदेखि विराटनगर–१० तिनटोलियास्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका असहाय, अशक्त, घरविहिन बनेका महिला तथा बालबालिकाको सेवामा समर्पित रहेकी छन् ।
मानव सेवा आश्रममा अहोरात्र खटिएर सेवा गरेका कारण उनलाई सम्मान गरिएको सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष सविता थापाले बताइन् ।
संघकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठसहित महानगर कमिटीका पदाधिकारीहरूको उपस्थितिमा आश्रममा रहेका ६२ जना आश्रितहरूलाई दिवा खाजा समेत खुवाइएको थियो ।