इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘महानगर अटिजम सेवा केन्द्र’ मा बालबालिकालाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ । देशभरका स्थानीय तहमध्ये विराटनगरले सञ्चालनमा ल्याएको पहिलो अटिजम सेवा केन्द्र दावी गरिएको छ ।
विराटनगर–४ दूधफारममा भाडाको घरमा अटिजम केन्द्र सञ्चालित छ । यो महानगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’ मानिन्छ । सेवा केन्द्र सञ्चालनमा आएदेखि २० बालबालिकाले नियमित रूपमा सेवा लिइरहेका छन् । केन्द्रकी संयोजक रश्मि निरौलाका अनुसार विराटनगरमा अटिजमसँग सम्बन्धित समस्याका बालबालिकालाई सेवा दिने निजी स्कूल तथा केन्द्रहरु रहेका छन् । तर, यो महानगरपालिकाले सञ्चालनमा ल्याएको सेवा केन्द्र भने निःशुल्क छ । संयोजक निरौलाका अनुसार विराटनगरका मात्र नभएर जनकपुर र झापासम्मका अभिभावकहरू आफ्ना बालबालिकालाई अटिजम भएको भन्दै परामर्श लिन आउन समेत थालेका छन् ।
विराटनगरमा अहिले निजी अटिजम सेन्टरहरू धेरै खुलिरहेका छन् तर अभिभावकहरूबाट चर्को शुल्क लिइरहेको गुनासो अभिभावकले गर्ने गरेका छन् । महानगरको यो अटिजम सेवा केन्द्रले बालबालिकालाई विभिन्न सेवाहरू प्रदान गरिरहेको छ। घरबाट केन्द्रसम्म पुऱ्याउन निःशुल्क यातायात सेवाका साथै खाजाको समेत व्यवस्था गरिएको छ। त्यहाँ बालबालिकालाई मनोरञ्जनका लागि खेलकुद देखि विभिन्न प्रकारका थेरापी गराइन्छ।
केहि बालबालिकाले आफूलाई चोट पुर्याउन खोज्ने हुँदा साइलेन्ट रुम समेत बनाइएको छ। उक्त कोठामा वाल फम हालेर चोट नलाग्ने किसिमको बनाइएको छ। २० बालबालिकाको लागि १० कर्मचारी कार्यरत छन् । यस केन्द्रले बालबालिकालाई साप्ताहिक रूपमा डाक्टरको परामर्श लिने व्यवस्था गरेको छ। साथै अभिभावकलाई समेत विद्यालयमा सिकाइएको कुराको भिडियो बनाई पठाउने र घरमा पनि त्यसैगरी सिकाउन आग्रह गर्दै आएको छ। यता निजी अटिजम केन्द्रहरूले भने मासिक ३० हजारसम्म पनि अभिभावकबाट शुल्क लिने गरेका छन् ।
महानगरको अटिजम केन्द्र करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो। यसका लागि छिट्टै नै भवन निर्माण गर्ने योजना रहेको मेयर कोइरालाले बताए। अटिजम सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो। महानगरले सञ्चालनमा ल्याएको केन्द्रमा फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिने निरौराको भनाई छ । केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलखेलाउने बस्तुको समेत व्यवस्था गरिएको छ। केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइदै आएको छ । उनीहरूलाई उपचारपछि आदर्श माध्यमिक पठाईने छ । वास्तवमा अटिजम वा अटिजम स्पेक्ट्रम डिसअर्डर एक न्युरोडेभलपमेन्टल अवस्था हो जुन मस्तिष्कको विकासलाई प्रभावित गर्छ र सामाजिक अन्तरक्रिया, संचार र व्यवहारमा चुनौतीहरू सिर्जना गर्छ ।
यो साधारणतया बाल्यकालमा देखिन्छ र जीवनभर प्रभाव पार्दछ। आधुनिक वर्गीकरण अनुसार, अटिज्म स्पेक्ट्रम डिसअर्डर तीन प्रकारका हुन्छन् । स्तर १ (सहयोग आवश्यक), स्तर २ उल्लेखनीय (सहयोग आवश्यक), र स्तर ३ (अत्यधिक सहयोग आवश्यक)। यस्ता बालबालिकाहरूको लागि विराटनगर महानगरपालिकाको यो पहल अभिभावकहरूका लागि ठूलो राहतको विषय बनेको छ । केन्द्रकी संयोजकका अनुसार अहिलेका अभिभावक यस समस्य प्रति सजक रहेका छन् ।