विराटनगर । विराटनगर -३ दुर्गा चौकमा रहेको लायन क्रिकेट एकेडेमीले आयोजना गरेको लायन अन्डर-१० क्रिकेट प्रतियोगितामा लिलिपुट स्कुलले उपाधि जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा लिलिपुट स्कुलले आदर्श स्कुललाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। लिलिपुट स्कुलका आयान नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ४२ रन नटआउट र १ विकेट लिएर टिमलाई जित दिलाएका थिए। उनी फाइनल खेलको म्यान अफ द म्याच घोषित भए। शुक्रबार सुरु भएको प्रतियोगिता ६ ओभरको फरम्याटमा खेलाइएको आयोजकले जनाएको छ।
उक्त प्रतियोगितामा १५ विद्यालयले सहभागिता जनाएका थिए। शनिबार भएको समूह चरणका खेलहरूमध्ये सिद्धार्थ स्कुलले सेन्ट जोसेफ स्कुललाई ६ विकेटले हराउँदा सौरभ शाह म्यान अफ द म्याच घोषित भए। किड्स भिलेज स्कुलले लर्ड बुद्ध निकेतन स्कुललाई ७७ रनले पराजित गर्दा निसान्त सिग्देल म्यान अफ द म्याच घोषित भए। अर्को खेलमा लिलिपुट स्कुलले सिद्धार्थ स्कुललाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनायो। त्यस खेलमा आयान नेपालले ३३ रन र २ विकेट लिँदै म्यान अफ द म्याच घोषित भएका थिए।
सेमिफाइनलमा आदर्श स्कुलले किड्स भिलेज स्कुललाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । स्वर्णिम सङ्ग्रौला सेमिफाइनल खेलका म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताको विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो भने उपविजेता टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कार वितरण समारोहको प्रमुख अतिथि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी र विराटनगर किंग्स टिमका मालिक पारस लुनियाले ट्रफी र मेडल वितरण गरेका थिए। कार्यक्रममा सन्तोष बस्नेत, केसर बुढाथोकी, बिमल बस्नेत, नवराज लुइटेल, राधा कृष्ण नेपाल र पूजा बेग्वानीलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
लायन क्रिकेट एकेडेमीका अध्यक्ष दिवस नेपालले यस प्रकारका प्रतियोगिताले बालबालिकालाई खेलप्रति प्रेरित गर्नुका साथै उत्कृष्ट खेलाडी उत्पादनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।