विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनका लागि महानगरको यातायात व्यवस्थापन समितिले मेगर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ ।
महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र नेउपानेको संयोजकत्वमा गठित समितिले सोमबार मेयर कोइरालालाई प्रतिवेदन बुझाएको हो ।
महानगरकी उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख एसपी नारायण चिमरिया, सशस्त्र प्रहरीका एसपी राजेश घिमिरे, राष्ट्रिय अनुसन्धान मोरङका एसपी तिलक शर्मा प्रसाई, सडक डिभिजन विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साह, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन लम्साललगायतको उपस्थितिमा संयोजक नेउपानेले मेयर कोइरालालाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । प्रतिवेदन बुझाउनुअघि समितिका सदस्यसचिव नगर प्रहरीका प्रमुख राजन पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महानगरले नेउपानेको संयोजकत्वमा एक साताअघि समिति गठन गरी सुधारका लागि सुझाव मागेको थियो । समितिले समग्र महानगर क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापनलगायतका विषय समेटेर प्रतिवेदन तयार पारेको संयोजक नेउपानेले बताए । प्रतिवेदन कार्यान्वयन भए विराटनगरमा देखिँदै आएको ट्राफिक व्यवस्थापन, फुटपाथ अतिक्रमणलगायतका समस्या समाधान हुने संयोजक नेउपानेको भनाइ थियो ।
प्रतिवेदन बुझ्दै मेयर कोइरालाले ट्राफिक व्यवस्थापन र फुटपाथ नियन्त्रणमा सरोकारवालाको सहयोग लिएर कडाइ साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिवेदनले औंल्याएका समस्याहरु समाधान गर्न महानगरलाई जिल्ला प्रशासन, प्रहरीको सहयोग अपरिहार्य रहेको बताए । समितिले निकै मेहनत र सुझबुझका साथ प्रतिवेदन तयार गरेको पाइएको बताउँदै तत्काल कार्यान्वयनका लागि सरोकारवाला सबै क्षेत्र लाग्नुपर्नेमा उपमेयर शिल्पा निराला कार्कीले जोड दिइन् । प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रतिबद्धता जनाए ।
सडक डिभिजन विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहले प्रतिवेदनले औंल्याएका सिक्स लेनका थोरै खर्चले समाधान हुने समस्याहरु तत्कालै कार्यान्वयन गरी र बाँकी काम आगामी बजेटबाट कार्यान्वयन गरिने उल्लेख गरे ।