विराटनगर। विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।
विराटनगरको सहिद रंगशालामा फागुन २८ गते बुधबार ६:३० बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।
थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो । यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
चर्च ब्वाइज र थ्रीस्टार यो सिजनको फुटबल मैदानमा पहिलोपल्ट विराट गोल्डकपको फाइलनमा भेट हुँदैछ । लिग बिजेता चर्च ब्वाइजले मछिन्द्र र पुलिस जस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले उनीहरुको मनोबल उच्च देखिएको छ।
यता थ्रीस्टार पनि दोस्रो पटक गोल्डकपको उपाधि जितेर इतिहास रच्ने दाउसहित मैदान प्रवेश गर्ने लक्ष्य लिएको छ । थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।
चर्च ब्वाइजले यो सिजनमा चार वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ । यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटा चर्च ब्वाइजले उपाधि जितेको छ । जस मध्ये चर्च ब्वाइजले फिदिम फागुनन्द, झापा कप, र बागमती गोल्कडपको उपाधि जितेको छ ।
सहिद रंगशालमा मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सिजनमा हामीले मोफसलमा भएको तीन वटा गोल्डकपको उपाधि जितेको छौं । विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य रहेको छ,’ प्रशिक्षक श्रेष्ठले भने,’ विराट गोल्डकपसहित यो सिजनको चार वटा उपाधि हामी जित्ने योजना रहेको छ ।’ चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘थ्रीस्टार पनि राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्रै लक्ष्य रहेको छ,’ उनले भने ।
यता थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्नेछौं । डबल यल्लो कार्ड पाएकोले फाइलनमा कप्तान योगेशको खेल हेर्न पाउने छैनौ । तर पनि हामी उत्कृष्ट खेलाडी ल्याउनेछौं,’ उनले भने । फाइलनमा कसको कप्तानमा टिम मैदान उतार्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अहिले हामी टिम वर्कमा छौं । फाइनलमा कसलाई क्याप्टेनको जिम्मा दिने त्यो खेल अगाडी मात्रै थाहा हुनेछ । अहिले हामी छलफलमा छौं ।’ थ्रीस्टारका कप्तान योगेश गुरुङले आफु फाइनलमा मैदान प्रवेश नगरेपनि राम्रो टिमवर्क भएकोले उपाधी जित्ने गरि खेलाडी मैदान उत्रिने बताए । प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीति अनुरूप खेल्दै आफु नभएपनि उपाधि जित्नेमा ढुक्क रहेको उनले बताए ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेताले ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार छ ।