विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बिहीबार विराटनगरस्थित एनसीडिए भवनमा होली मिलन कार्यक्रम आयोजना गरेको छ ।
रंगहरूको पर्वको अवसरमा औषधी व्यवसायीहरूबीच भाइचारा र सद्भाव बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै एनसीडिएका केन्द्रीय सदस्य प्रदिप कुमार दासले होली पर्वले समाजमा भाइचारा कायम गर्दै अगाडी बढ्न प्रेरित गर्ने बताए । उनले भने, “होली हाम्रो परम्परा र संस्कृतिको महत्वपूर्ण अंग हो, जसले हामीलाई एकअर्काप्रति सद्भाव राख्न र सहकार्य गर्न सिकाउँछ ।’
एनसीडि कोशी प्रदेशका अध्यक्ष धनबहादुर काफ्लेले सद्भावको पर्व होलीले व्यवसायीहरूमा भाइचारा कायम गर्दै अगाडी बढ्न ठूलो मद्दत पुग्ने बताए । उनले औषधी व्यवसायीहरूलाई एकताबद्ध हुन र आपसी सहयोगमा जोड दिए ।
कार्यक्रमको सभापति एवं एनसीडि मोरङका अध्यक्ष देशबन्धु ढकालले रंगको पर्व होलीको शुभकामना दिँदै औषधी व्यवसायीहरूको हकहितमा केन्द्रीय कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले खुद्रा र थोक व्यवसायीहरू मिलेर व्यवसायीहरूको हकहितको लागि केन्द्रलाई दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । ‘औषधी व्यवसायीहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न हामी सबै एकजुट हुनुपर्छ,’ ढकालले भने,‘यसका लागि हामीले व्यवसायिक र संगठनात्मक क्षमता अभिवृद्धि गर्नु आवश्यक छ ।’
सोही अवसरमा एनसीडि कोशी प्रदेशमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई संघले सम्मान गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै ढकालले उनीहरूको कार्यकालमा व्यवसायिक अधिकार र हितहरूको संरक्षणका लागि प्रभावकारी पहलकदमीको अपेक्षा गरेको बताए । कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका भरत साह, मेलान विराटनगरका अध्यक्ष दिनेश राउत, पिनका अध्यक्ष दुर्गा भट्टराई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदिप कोइरालालगायतले शुभकामना मन्तव्य दिएका थिए ।
स्वास्थ्य मन्त्रालयका भरत साहले प्रदेश सरकारले औषधी व्यवसायीहरूको समस्याहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए । उनले यस क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सरकार र व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
मेलान विराटनगरका अध्यक्ष दिनेश राउतले औषधी व्यवसायीहरूले सामना गरिरहेका चुनौतीहरू सम्बोधन गर्न सामूहिक प्रयासको आवश्यकता रहेको औँल्याए । उनले होली पर्वको अवसरमा व्यवसायीहरूबीच सद्भाव र सहकार्य बढाउन जोड दिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले एकअर्कालाई अबिर लगाएर होलीको रौनक थपेका थिए । व्यवसायीहरूले एकअर्कालाई अबिर लगाउँदै वर्षभरि मिलेर काम गर्ने र व्यवसायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाए ।