विराटनगर । नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोलका अध्यक्ष राजेश कटुवाल अष्टा सम्मान २०८१ बाट सम्मानित भएका छन्।
काठमाडौंको सुकेधारामा आयोजित कार्यक्रममा फुलबारीका अध्यक्ष कटुवाललाई दिगोपन नेतृत्व (Sustainability Leader) को रूपमा सम्मान गरिएको हो। नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोलले विराटनगर महानगरपालिका उत्तरी क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मंत्री प्रदीप पौडेल र ग्रेस ईभेन्ट्सका CEO सुरज थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
अष्ट सम्मान २०८१ ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आएका ८ जना व्यक्तित्वहरुलाई सम्मानित गरेको छ। सम्मानित व्यक्तित्वहरुमा सामाजिक अभियन्ता (Social activist) अनुराधा कोइराला, प्रख्यात गायक (Legendry singer) आनन्द कार्की, विमानन पथप्रदर्शक (Aviation trailblazer) क्याप्टेन भावना पन्त, मिडिया विजनरी (Media visionary) जगदीश खरेल, प्रथम एक खुट्टा नर्तकी (First One Leg Dancer) रोमा न्यौपाने, दिगोपन नेतृत्वकर्ता (Sustainability Leader) राजेश कटुवाल, व्यापार अभिनवकर्ता (Business innovator) रमेश भुजिल र उदीयमान मोडल (Emerging model) सोनिया चामलिंग राई रहेका छन्।
कार्यक्रममा विशिष्ट अतिथिहरूमा चौतारा साँगाचोक गढीकी उपमेयर सीता थापा, एस्पायर सर्भिस एचआरका प्रबन्ध निर्देशक दिवासराज भट्टराई, र बैंकर एण्ड एशियन युथ इन्स्पिरेसन अवार्ड विजेता सास्वत कार्की लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा कलाकार सपन श्रेष्ठ, कमल खत्री, धिरज राई लगायतका अन्य थुप्रै कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।