विराटनगर । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । कुनै बेला स्ववियु निर्वाचनमा देशकै केन्द्र मानिने महेन्द्र मोरङ क्याम्पसमा त्यसबेलाको जस्तो विद्यार्थी संख्याको नेतृत्व लिने अवसर छैन । त्यसले चुनावी रौनक कमजोर छ तर विवाद भने अहिले नि उस्तै देखिन्छ ।
क्याम्पसको स्ववियु नेतृत्वका लागि विभिन्न संगठनले आ–आफ्ना उम्मेदवार खडा गरेर चुनावी मैदानमा छन् । तर, विद्यार्थीबीच राजनीतिको नयाँ रुप अहिले पनि देखिएको छैन । त्यसमा पनि नेपाल विद्यार्थी संघ भित्रको विवाद मौन अवधी सुरु हुँदा समेत उतिकै सतहमा छचल्किरहेको छ । बाँकी विद्यार्थी संगठनबीचको तित्तता भने देखिएको छैन ।
मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ सात संगठनले उमेदवारी दर्ता गराएका छन् । जसमा एक स्वतन्त्र प्यानल समेत रहेको छ । जसमा ७२ जना पत्यक्षतर्फ रहेका छन् । समानुपातिकतर्फ नौवटा संगठन रहेका छन् ।
यस्तो छ स्ववियुको इतिहास
महेन्द्र मोरङ क्याम्पसमा पहिलो पटक २०३६ सालमा ध्रुवनारायण श्रेष्ठको सभापतित्वमा स्ववियु गठन भएको थियो । २०३८ सालमा भने स्ववियु निर्वाचनका क्रममा तत्कालीन नेविसंघका नेतासमेत रहेका विजयकुमार गच्छदारको टिमले कब्जा गरेको थियो । त्यही वर्षको मंसिर ९ गते फणिन्द्र तिम्सिनाको हत्या भएको इतिहास छ । त्यसपछि लामो समय स्ववियु कार्यालयमा तालाबन्दी भयो । त्यसपछि भएको ४० सालको स्ववियु निर्वाचनमा भरतराज पोखरेल सभापतिमा निर्वाचित भए । २०४१ सालमा रमेश भट्टराई निर्वाचित हुँदा २०४३ सालमा भुराज राई सभापति चयन भए । ०४५ देखि ०४९ फागुनसम्म महेश रेग्मी सभापति चयन भए । ०४९–०५१ देखि यदु विष्ट, ०५१ देखि ०५३ मा गुरुराज घिमिरे सभापतिमा चयन हुँदा ०५३ सालमा ऋषिकेश पोखरेल, २०५५ सालमा उपेन्द्र गच्छदार, २०५७ र २०६० मा सागरकुमार थापा, २०६२ सालमा भीम पराजुली र २०६५ सालमा जयराम सुन्दासको नेतृत्वमा स्ववियु गठन भएको थियो । दुई वर्ष पहिले जसवन्त पौडेलले स्ववियु समालेका थिए । आगामी चैत ५ गते हुने मतदानले मोरङ क्याम्पसमा नयाँ सभापति निर्वाचित गर्नेछ ।
विवादको विगत वर्तमान
मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विगतदेखि अहिलेसम्म विवादको स्वरुप भने उस्तै देखिन्छ । कहिले अन्तर विद्यार्थी संगठनबीच त कहिले आन्तरिक संगठनबीचको विवाद सतहमा आउने गरेको छ । तर। कतिपय विवाद स्ववियुको को पुग्ने भन्ने मनसाय प्रेरित छन् भने कतिपय विवाद बदला लिनेसम्मको स्थानसम्म विगतदेखि नै देखिन्छन् ।
२०३८ सालमा भने स्ववियु निर्वाचनका क्रममा तत्कालीन नेविसंघका नेतासमेत रहेका विजयकुमार गच्छदारको टिमले कब्जा गरेको थियो । त्यही वर्षको मंसिर ९ गते फणिन्द्र तिम्सिनाको हत्या भयो । त्यसपछि लामो समय स्ववियु कार्यालयमा तालाबन्दी भएको इतिहास छ । २०६५ सालमा जयराम सुन्दासको नेतृत्वमा स्ववियु गठन भएको थियो । त्यसको पूर्वसन्ध्यामा सुन्दासमाथि सांघातिक आक्रमण गरिएको थियो । अखिल क्रान्तिकारीका सुन्दासलाई हत्या गर्ने शैलीमा आक्रमण भएको थियो । यो पटकको स्ववियुमा नेपाली काँग्रेसको संस्थापन र डाक्टर शेखर कोइराला पक्षको विवाद उत्कर्षमा छ । निर्वाचन रोक्ने चेनावनी डाक्टर शेखर समूहको नेविसंघले दिदैं आइतबार पत्रकार सम्मेलन गरेको छ ।
निर्वाचन तयारी पूरा
मोरङ क्याम्पसका निर्वाचन समिति संयोजक डा.सुशील अधिकारीले निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका छन् । उनले संघसंगठन दर्ताका आधारमा मतपत्र छपाईसहितको प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । उनले केन्द्रीय निर्वाचन कार्यविधीका आधारमा मोरङ क्याम्पस निर्वाचनको अन्तिम तयारीमा रहेको बताए । निर्वाचन हुननसक्ने वा हुनहुँदैन भन्ने पक्ष नै नभएको बताउँदै उनले भने–निर्वाचन समितिले गर्नुपर्ने काम सबै पूरा गरेकोले चैत ५ गते मतदान हुनेछ, त्यसपछि मतगणनासहितका कार्यक्रमहरु अगाडी बढ्नेछन् ।