प्रेम देवान
विराटनगर । भोली चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) को निर्वाचन देशैभर हुदैछ । ठुला राजनीतिक दलका भातृ संघठनहरुले छुटाछुटै उम्मेदवारी दिएका छन् ।
फरक राजनीतिक विचारधारा बोकेर चुनावी मैदानमा उत्रिएका भातृ संघठनहरुले आ-आफ्नो उम्मेदवारीले जितुन भनेर लागि परेका छन् । यसका लागि सम्भावित घटना हुन नदिनको लागि मोरङ प्रहरीले विशेष ध्यान केन्द्रीत विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई गरेका छन् ।
हुन त अहिले मौन अवधी सुरु भईसकेको छ । कोही पनि विद्यार्थीहरुले प्रचार प्रसार गर्न पाउदैनन् । गत शनिबार रातीदेखी सुरु भएको मौन अवधीमा क्याम्पसतिर विद्यार्थीहरुको सहभागिता कम छ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बढी मात्रामा लफडा हुने हुँदा प्रहरीले २४ सै घण्टा प्रहरी परिचालन गरेर सुरक्षा प्रदान गरिरहेको छ । महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको विवादले झन् सशंकित पारेको छ । क्याम्पसमा डाक्टर शेखर कोईराला पक्षधर र शेरबहादुर देउवा पक्षको भिडन्तले स्ववीयु निर्वाचनको लागि विद्यार्थीहरु अन्यौलमा परेका छन् ।
केहिदिन अगाडी मात्रै देउवा पक्षधरका विद्यार्थीहरुले कोईराला पक्षधरका विद्यार्थीलाई कुटपिट गरेको घटना ताजै छ । कुटपिटबाट केही विद्यार्थी घाईते भई हस्पिटलसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको थियो । उनीहरुको विवादको पछाडी स्ववीयु निर्वाचनमा नेविसंघको तर्फबाट आधिकारीक उम्मेदवारी दिने नै थियो । तर कोईराला र देउवा पक्षका दुवै समुहले उम्मेदवारी खडा गरी मनोनय दर्ता गरे । दर्ता गर्ने विषयमा नै विवाद चुलिएको थियो । विवादका बाबजुत पनि अन्तत देउवा पक्षधरको समुहलाई आधिकारिता दिएपछि यता कोईराला पक्षधरका समुहले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गर्दै आगजनी समेत गरेका थिए ।
उही कोईराला पक्षधरका समुहले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आफुहरुलाई स्वतन्त्र उम्मेदवारीमा राखेको भन्दै निर्वाचन रोक्न सक्ने समेत चेतावनी दिएका थिए । चैत ५ गते निर्वाचन भए आफु पनि मर्ने र अरुलाई पनि मार्नेसम्मको धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । हुन त आफुहरु पनि छुटै टिम खडा खरेर स्ववीयु निर्वाचनमा होमिएका छन् । आफु नेविसंघको केन्द्रीय सदस्य भएका कारण नेविसंघको अधिकारीक उम्मेद्वारी कोईराला पक्षधरका विद्यार्थी नेता योगराज दाहालले दाबी गरेका छन् । महेन्द्र मोरङ क्याम्पसबाट म लगायत अन्य २ जनाले राजनितिक गरिरहेका कारण मर्यादाको हिसाबले आफुहरुलाई नै आधिकारीकता दिनुपर्ने दाहाले भनेका छन् । दुवै पक्षको उम्मेदवारले मनोनयन दर्ता गरिसकेपछि यता विद्यार्थीहरुमा कुन पक्षलाई भोट हाल्ने हो भन्ने विषयमा पनि अन्यौल छाएको छ ।
दुवैपक्षको चरम विवादले गर्दा निर्वाचनमा कुनै पनि अप्रिय घटना नघटोस भनेर जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा व्यवस्थापनमा कडाई गरेको छ । मोरङ प्रहरीले हरेक दिन वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा प्रदान गरिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । सबैभन्दा बढी ध्यान महेन्द्र मोरङ क्याम्पसमा भएका कारण सुरक्षाको व्यावस्थापनमा पनि चुस्ततुरुस्त बनाउन लागिपरेका छौँ जोशीले भने, भोली हुने निर्वाचनलाई मध्यनजर गर्दै मुख्य प्रवेशद्धारादेखी मतदान हुने स्थान र मतपेटिकाको निगरानी गरिनेछ ।’ त्योसँगै मोरङ जिल्लाभरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्थापनमा कडाई गरिएको जोशीको भनाई छ । निर्वाचनका लागि जनपथ प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान र सादा पोशाक प्रहरी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ ।