विराटनगर । मोरङका पाँचवटा स्थानीय तहका ४६ वटा वडामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको छ । जिल्लाका १७ पालिकामध्ये चालु आर्थिकवर्षमा पाँचवटा पालिकामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङको रङगेली नगरपालिका, उर्लाबारी नगरपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका तथा कानेपोखरी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा जोन सञ्चालन हुनेछ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख मनोज यादवका अनुसार, गुणस्तर मह उत्पादन गरेर बजारीकरणका लागि प्रशोधन तथा भण्डारण गर्ने लक्ष्यसहित कार्यक्रम कार्यन्वयनमा आएको हो । मह निर्यातका लागि जोन क्षेत्रमा साना तथा लघु उद्यममार्फत ब्राण्डिङ समेत गराउने लक्ष्य राखिएको उहाँको भनाई छ ।
प्रमुख यादवका अनुसार कार्यक्रम सञ्चालनका लागि ८० लाख बजेट छुट्याइएको छ । मोरङमा मौरी पालक किसानले जोनको माग गर्दै आएका थिए । मोरङमा यस अगाडी मौरी ब्लक कार्यक्रम सञ्चालनमा रहेको थियो । विराट मौरी तथा मह उत्पादक स्रोतकेन्द्रका सञ्चालक रेवतीकुमार तिम्सिनाले जोन कार्यक्रम सञ्चालनले किसानलाई केहि न केहि राहत पुग्ने बताउनुभयो ।
फोटो:फाइल