विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगरले १६औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक छात्रालाई छात्रवृति प्रदान गरेको छ ।
विराटनगर २ मा रहेको जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई सोमबार एक कार्यक्रमको आयोजना गरी छात्रवृति प्रदान गरिएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई नाबुन विराटनगर महानगर कमिटिले कक्षा दश सम्मको पढाईमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने नाबुन विराटनगर महानगर कमिटिकी अध्यक्ष भली सुब्बाले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन समस्या व्योहोर्नु परेको अवस्थाकी छात्रालाई पठनपाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले छात्रावृति प्रदान गरिएको सुब्बाले बताउनुभयो यस अघिका वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र यसपटक हामीले शिक्षा क्षेत्रमा योगदान गर्ने निर्णय गरेर आउने दिनहरुमा यो अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
कार्यक्रममा नाबुनकी केन्द्रीय सदस्य गंगा तामाङ, नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगीले महानगरले थालेको यो कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उदेस्यले थालेको यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
विद्यालयका सहायक प्रधानाध्यापक चिन्तामणी रिजालले भारतीजस्ता जेहेन्दार विद्यार्थीहरूलाई दिइने यस्ता छात्रवृत्तिले उनीहरूको शैक्षिक यात्रामा ठूलो टेवा दिने बताउनुभयो । विद्यालयका अध्यक्ष मनोज विक्रम साहले सौन्दर्यकर्मीहरूको यस पहलको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नाबुन विराटनगर महानगरकी सचिव बसन्ती गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् भने नाबुन प्रदेशकी कोषाध्यक्ष अमिता पोखरेल, जिफन्ट कोशी प्रदेशकी महिला सचिव सायदा तवसुम लगायत अन्य सौन्दर्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
्