विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससहित त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । बिहान ८ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने छ ।
मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ सात संगठनले उमेदवारी दर्ता गराएका थिए । जसमा एक स्वतन्त्र प्यानल समेत रहेको छ । जसमा ७२ जना प्रत्यक्षतर्फ रहेका छन् । समानुपातिक तर्फ नौ वटा संगठन रहेका छन् ।
यस्तो छ स्ववियुको इतिहास
महेन्द्र मोरङ क्याम्पसमा पहिलो पटक २०३६ सालमा ध्रुवनारायण श्रेष्ठको सभापतित्वमा स्ववियु गठन भएको थियो । २०३८ सालमा भने स्ववियु निर्वाचनका क्रममा तत्कालीन नेविसंघका नेतासमेत रहेका विजयकुमार गच्छदारको टिमले कब्जा गरेको थियो । त्यही वर्षको मंसिर ९ गते फणिन्द्र तिम्सिनाको हत्या भएको इतिहास छ । त्यसपछि लामो समय स्ववियु कार्यालयमा तालाबन्दी भयो । त्यसपछि भएको ४० सालको स्ववियु निर्वाचनमा भरतराज पोखरेल सभापतिमा निर्वाचित भए । २०४१ सालमा रमेश भट्टराई निर्वाचित हुँदा २०४३ सालमा भुराज राई सभापति चयन भए । ०४५ देखि ०४९ फागुनसम्म महेश रेग्मी सभापति चयन भए । ०४९–०५१ देखि यदु विष्ट, ०५१ देखि ०५३ मा गुरुराज घिमिरे सभापतिमा चयन हुँदा ०५३ सालमा ऋषिकेश पोखरेल, २०५५ सालमा उपेन्द्र गच्छदार, २०५७ र २०६० मा सागरकुमार थापा, २०६२ सालमा भीम पराजुली र २०६५ सालमा जयराम सुन्दासको नेतृत्वमा स्ववियु गठन भएको थियो । दुई वर्ष पहिले जसवन्त पौडेलले स्ववियु समालेका थिए । आजको मतदानले महेन्द्र मोरङ क्याम्पसमा नयाँ सभापति निर्वाचित गर्नेछ ।