विराटनगर । विराटनगरमा पछिल्लो समय बढ्दै गएको गुण्डागर्दी क्यासिनोमा पुगेर भिडन्तमा प्रकट भएको छ । विराटनगर–११ स्थित होटल रत्नाको सम्राट् क्यासिनोमा दुई समूह भिडेका छन् । आइतबार मध्यरातमा अभिषेक गिरी सञ्चालक रहेको क्यासिनोमा किरण लामा र रोनाल कँडेल पुगेका थिए । त्यसपछि लामा–कँडेल समूहसँग गिरी पक्षको दोहोरो हानाहान भएको थियो । मध्यरातको घटनापछि पनि झिल्कोको रुपमा जताततै सल्किने तयारी समेत भईरहेको छ ।
विराटनगरमा हुर्कदै गएको गुण्डागर्दी क्यासिनोमा सार्वजानिक भएको छ । प्रहरीको उपस्थितिमै दुई समूह आक्रमणमा उत्रिएको घटना अरु भिडन्त तयारीमा रहेको बुझिएको छ । जसका लागि लामा र कँडेललाई जहाँ भेटेपनि नछोड्ने गिरीको तयारी छ भने गिरीलाई समेत तह लगाउने तयारीमा लामा र कँडेल रहेका छन् । आइतबार राती १२ बजे भएको झडपमा गिरीले आफ्नै क्यासिनोमा आएका लामा र कँडेललाई रग्ताम्य हुने गरी कुटपिट गरेका थिए । प्रतिकारमा उनको टाउकोमा समेत उनीहरुले गमला बजारेका थिए ।
खासमा के भएको थियो ?
होटल रत्नाको क्यासिनोमा लगानी गरेका विकास चौधरीले आफ्नो स्वामित्व गिरीलाई दिएर बाहिरिएका थिए । चौधरीसहितका लगानीकर्ता क्यासिनो चलाउन नसक्ने अवस्थामा पुग्नुको कारण पनि गुण्डाहरुको असुली धन्दा नै थियो । क्यासिनोमा नेपालीलाई खेल्न प्रतिबन्ध लगाइएको छ । तर, क्यासिनोभित्र किरण लामाका साथी दमकदेखि आइतबार राती आएका थिए । उनैलाई भेट्न किरण रोनाललाई लिएर पुगेका थिए । किरण र रोनाल साझेदारीका हर्कत मच्चाउँदै आएका छन् । जसमध्ये किरण एमालेका जिल्ला सदस्य हुन् भने रोनाल तरुण दलमा आवद्ध छन् । क्यासिनो पुग्नु अगाडी किरण र रोनालसँगै बसेर रक्सी पिएको बुझिएको छ ।
‘हामी त्यहाँ साथी भेट्न पुगेका थियौं, भित्र प्रवेश गर्न बाउन्सरले रोके’ रोनालले घटनाको बारेमा भने–भित्र प्रवेश गर्न नपाउने हो भने साथी (दमकबाट आएका किरणका साथी) बोलाई दिनु भन्दा पनि मानेन । त्यसपछि अभिषेकका भतिज निकेश बाहिर आएर लामाहरुलाई के हो ? भन्दै तर्साउन खोजेका थिए । त्यो विवाद चर्किएको एकछिनपछि अभिषेक गिरी आएर किरण र रोनालमाथि आक्रमणमा उत्रिएको उनको दावी छ । दोहोरो झडपमा कँडेलको नाकमा चोट लागेको र लामालाई समेत चोट लागेको छ । गिरीको टाउकोमा चोट लागेको छ । कँडेलले भित्रै प्रवेश पाउनु पर्ने भन्ने माग नभएको बताए । उनले भित्रको साथी बोलाई दिएको भएपनि बाहिरबाटै आफूहरु निस्कने तयारीमा रहेको दावी गरेका छन् ।
घटनापछि पनि रोकिएन गिरी पक्ष
रोनाल र किरणसँग अभिषेकले भिड्न थालेपछि दुवैतर्फ घाईते भएका थिए । त्यसपछि रोनाल र किरण निस्के, त्यहाँ पुगेको प्रहरीले मध्यरातको झडपलाई खासै याद नगरी साइड लाग्यो । गिरीको समुह भने राती नै रोनाल कँडेलको घरमा पुगेर उनकी श्रीमतीलाई धम्क्याएको थियो । कँडेललाई खोज्दै पुगेको समुहले हतियार देखाएर गेट खोल्न भनेको र जुनसुकै बेला मार्नसक्ने चेतावनी दिएर फर्केको थियो । प्रहरीमा अभिषेकले किरण र रोनाल विरुद्ध र रोनालकी श्रीमती कोकिला चेम्जोङ्गले अभिषेक समूह बिरुद्ध ठाडो उजुरी दिएका छन् ।
मोरङका प्रहरी नायव उपरीक्षक नारायण चिमरियाले घटनाको विषयमा स्ववियुको निर्वाचनपछि अनुसन्धान र कारवाहीको प्रक्रिया थाल्ने बताएका छन् । उनले गिरीले हालेको मुद्दाका आधारमा संलग्नहरुलाई नियन्त्रणमा लिने बताएका छन् ।
जताततै जोडिन्छन्, तर पक्राउ पर्दैनन्
विराटनगरमा पछिल्लो समय क्यासिनो विवादमा हानाहान गर्ने दुई समूह जताततै जोडिदै आएका छन् । तर, प्रहरीले यिनीहरुलाई नियन्त्रणमा लिने प्रयास गर्दैन । एक महिना अगाडी मोरङको बुढीगंगा–४ बाट एकजना १७ वर्षीया बालिकालाई एकजना युवाले लिएर गिरीको घरमा पुगेका थिए । युवतीका परिवारले खोजबिन गरिदिन प्रहरीमा उजुरी दिए । त्यसका आधारमा प्रहरीले चारदिनपछि बालिकालाई भेट्यो । तर, २१ वर्षका किशोरले १७ वर्षीया बालिकालाई जर्बरजस्ती लिएर गिरीको संरक्षणमा बसेका आधारमा छुट पाए । बालिकालाई अहिले सेफ हाउसमा राखिएको छ । तर, ती युवक भने गिरीका कारण मुद्दा चल्ने अवस्था भन्दा बाहिर रहे ।
प्रहरीले दुवै पक्षले आफ्नो परिवारका सदस्य जिम्मा लिने भएपछि मुद्दा नचलाएको भनेपनि घटना अनुसन्धानमा प्रहरीमा गिरीको छाँया परेको बताइन्छ । उसो त मोरङका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले विराटनगरमा ट्राफिक प्रहरीले राजमार्ग केन्द्रीय सिटी सफारी नियन्त्रणका लागि गरेको प्रयासमा समेत गिरीको सुझावका आधारमा कार्यन्वयन गर्न रोकेका थिए । त्यसपछि आएका प्रमुख जिल्ला अधिकारीले भने राजमार्गमा सवारी आवागमन व्यवस्थापनका लागि समिति नै बनाएर अध्ययन गर्न लगाएका छन् ।
गिरी जस्तै रोलान कँडेल क्यासिनो भित्र र बाहिर पटक पटक झगडामा मुछिने गरेका छन् । यसअघि पनि कँडेलले तरबार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका थिए । विराटनगर– ११ बसपार्कमा राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई तरबार प्रहार गरेर घाइते बनाए । प्रहरीले राति नै कँडेललाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा म्याद थप गरेको थियो । त्यसपछि उनी अदालतबाट धरौटीमा रिहा भए ।
उनी बारम्बार क्यासिनोमा प्रवेश गर्ने र झगडा गर्नेमा पर्दछन् । यसअघि पनि मध्यरातमा विराटनगरमा सम्राट् क्यासिनोमा जुवा खेलर बाहिरिने क्रममा झगडा हुँदा उनी घाइते भएका थिए । २०८० पुस २६ गते ‘सम्राट्’ क्यासिनोबाट निस्किने क्रममा कँडेल र विक्रम थपलियाबीच झडप भएको थियो । झडपमा परी कँडेल घाइते भएका थिए । पछि थपलियालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका थपलिया पनि अदालतबाट धरौटीमा छुटेका थिए । अर्का किरण लामा पनि विवादित हुन् । उनका समेत यस्ता प्रकरण थुप्रै छन् ।
झगडापछि मिलाउने समुह पनि सक्रिय
गिरीको क्यासिनोमा रोनाल र किरण पुगेपछि भएको दोहोरो भिडन्त मिलाउने समुह समेत अहिले सक्रिय छन् । यसमा एड्भट्टाइजिङ्ग कम्पनी चलाउँदै होर्डिङ बोर्डको कारोबार गर्दै आएका मनोज चौहान सक्रिय भएका छन् । चौहान गिरीको क्यासिनोमा रोनाल र किरण पुगेर गरेको विवादको विपक्षमा छन् । त्यसको मतलव अभिषेक गिरीको पक्षमा उनले लबिङ गर्दै आएका छन् । जसका लागि उनले एमालेका नेताहरुसँग किरणसँग बसेर कुरा गरिदिन भनिरहेको बुझिएको छ ।
विराटनगरको दुई वटा क्यासिनामो नेपालीको निर्बाध रुपमा प्रवेश गर्ने गरेका छन् । विराटनगरमा होटल बिगमा सञ्चालित च्याम्पियन जोन प्रा.लि. (क्यासिनो) र रत्ना होटल भित्रको सम्राट् क्यासिनोमा नेपाली प्रवेश निषेध भनिएपनि प्रवेश गर्ने गरेको स्वयम् कँडेल भन्छन् । उनी धेरै झगडा गरेका कारण दुवै क्यासिनोमा प्रवेश गर्न पाउँदैनन् । त्यसपछि उनी मेची क्राउनसम्म पुग्ने गरेका छन् । ‘क्यासिनोमा नेपाली प्रवेश निषेध हो, कँडेल मात्रै किन ? उनी आफैं भन्छन्–बुढापाका गुण्डाहरुले हामीलाई पनि हेर्नुपर्छ । उनले बुढापाका भनेका व्यक्ति उनी गिरी हुन् ।
प्रहरी निरीह जस्तै
विराटनगरमा पछिल्लो समय गुण्डागर्दी गर्ने समूह सक्रिय रहेको सुचना प्रहरीमा छ । उनीहरुले सामाजिक रुपमा फैलाउने अशान्तिको बारेमा सुचना हुँदापनि घटनापछि प्रहरी पक्राउ गर्दैन । गिरी, लामा र कँडेल मात्रै नभई अन्य समूह समेत विराटनगरमा सक्रिय छन् । सबैको सुचना राखेको प्रहरी उनीहरुकै छाँयामा पर्न थालेको छ । जसको कारण राजनीतिक आवरणमा गुण्डागर्दी मौलाईरहेको छ । तर, मोरङका प्रहरी उपरीक्षक नारायण चिमरिया भने विवादमा रहेका दुई समूहको विषय अनुसन्धान गर्ने बताउँछन् । उनले प्रहरीले आफ्नो काम निर्वाध गरिरहेको दावी गरेका छन् ।
मोरङमा कुनैबेला गुण्डागर्दी मच्चाउने समूहमध्ये एमालेका पर्शुराम बस्नेतहरु अहिले राजनीतिक व्यक्तिको रुपमा चिनिन्छन् । बस्नेतसँग टक्कर दिएर बसेका गिरीको अहिले पनि धन्दा उहि छ । गिरी विभिन्न नाममा सामाजिक सेवामा आएको देखाउँने गरेका छन् । उनलाई काँग्रेस नेता अमृत अर्यालले संरक्षण गर्दै आएको बताइन्छ । तर, गिरी कारागारबाट छुटेपछि पनि उहि धन्दा चलाईरहेका छन् । यता लामा एमाले भित्रको गुण्डागर्दीको सहउत्पादन मानिन्छन् । एमालेको भर्खरै सम्पन्न जिल्ला अधिवेशनमा उनी सर्वसम्मत जिल्ला सदस्य निर्वाचत भएका थिए । कँडेल अब तरुण दलको महानगर अध्यक्ष हुने लाइनमा छन् । उनी केदार कार्कीसँग नजिक भएर काम गर्दै आएका छन् ।
स्मरण गर्नुपर्ने के छ भने कुनैबेला विराटनगरको गुण्डागर्दी उत्कर्षमा पुगेर प्रहरी समेत निरीह हुँदा मोरङमा प्रद्युम्न कार्की प्रहरी उपरीक्षको रुपमा आए । त्यसपछि प्रहरी नायव उपरीक्षक दिपक थापा आएका थिए । त्यो बेला प्रहरी कुनैपनि ठाउँमा निरीह भईरहेका बेला उनी कार्की र थापाले मोरङको गुण्डाराज निस्तेज पारेर फर्केका थिए । अहिले प्रहरीको प्रमुख उनै दिपक थापा रहेका छन् । उनी नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक सोमबार मात्रै भएका हुन्। मोरङ, त्यसमा पनि विराटनगरको गुण्डाराज कस्तो चल्छ भन्ने उनलाई समेत राम्रोसँग थाहा छ ।