विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि मतदान जारी रहेको छ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेसम्म २ हजार २५ जनाले मतदान गरिसकेका छन्। जसमध्ये १ हजार ९६ छात्र र ९२९ छात्राले मतदानमा सहभागिता जनाएका छन्।
क्याम्पसमा कुल मतदाताको संख्या ५ हजार ९८४ रहेको छ, जसमा २ हजार ८९० छात्रा र ३ हजार ९४ छात्र मतदाता रहेका छन्। मतदानका लागि निर्वाचन कार्यालयले १५ वटा मतदान केन्द्रहरू स्थापना गरेको छ। मतदान आज दिउँसो ४ बजेसम्म चल्ने छ।
यस निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा विजयी नेपाल विद्यार्थी संघ (नेविसंघ) ले यस पटक प्रज्ज्वल विष्टलाई सभापति पदका लागि उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादवलाई र एमाले निकट अनेरास्ववियुले अनिश बोगटीलाई सभापति पदका लागि उम्मेदवार बनाएको छ।