विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
आज विहान ८ बजेबाट सुरु गरिएको मतदान दिउसो ४ बजे सकिएको निर्वाचन कार्यलय जनाएको छ । निर्वाचन कार्यलयका अनुसार कुल ४३.९३ प्रतिशत मात्र मत खसेको छ ।
क्याम्पसमा कुल ५९८४ जना मतदाता रहेकोमा २६३१ जनाले मात्र मतदान गरेको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डा. शुशिल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान गर्न आज ३६२३ जना विद्यार्थी अनुपस्थित भएका थिए । क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता रहेका थिए ।
निर्वाचन कार्यालयले १५ वटा मतदान स्थल बनाईएको थियो । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए । उता डिग्री क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कुल ३९८ मत खसेको छ । क्याम्पसमा कुल ६२७ विद्यार्थी मतदाता रहेकोमा २२९ विद्यार्थीले मतदानमा सहभागी भएनन् । निर्वाचन कार्यालयका अनुसार ६३ प्रतिशतमा मत खसेको छ । उता नर्सिङ क्याम्पस विराटनगरमा भने ३३३ विद्यार्थीमा ३१५ जनाले मतदान गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार आजै नै सर्वदलिय दलको बैठक बसी राती ८ बजेदेखी मतगणना गरिने जनाइएको छ ।