विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय बजारमा बिक्री भइरहेको हरियो तरकारीहरूको विषादी परीक्षण गर्ने योजनासहित प्रयोगशाला स्थापना गर्ने प्रक्रिया बढाएको छ । तरकारी तथा फलफुलमा विषादी अवशेष द्रुत विश्लेषण गर्नका लागि महानगरपालिकाले मेशिन खरिद गर्ने प्रक्रिया थालेको हो ।
महानगरपालिकामा स्थानीय उपभोक्ताहरूले बजारमा बिक्री भइरहेको हरियो तरकारी तथा फलफुलको विषादी परीक्षण नभएको भन्दै गुनासो गर्दै आएका छन् । त्यहि गुनासो सम्बोधन गर्न महानगरको उपभोक्ता हित संरक्षण समितिले फलफूल तथा हरियो तरकारीको विषादी परीक्षणको योजना बनाएको हो ।
महानगरका स्थानीयहरूले दैनिक भान्सामा पकाउने हरियो तरकारीमा विषादी भए नभएको जानकारी उपभोक्तालाई नै थाहा हुँदैन। यहाँका बजारमा बिक्री भइरहेको तरकारीमा विषादीको प्रयोग भएनभएको परीक्षण अहिलेसम्म गर्ने चलन छैन ।
आगामी दिनमा प्रत्येक खुद्रा व्यापारीदेखि थोक विक्रेताको हरियो तरकारीको विषादी परीक्षण गरिने महानगर उपप्रमुख शिल्पा निरौला कार्कीले जानकारी दिइन्। उनले अहिले महानगरका हाटबजारमा नियमित अनुगमन भइरहेको बताइन्। अनुगमन मात्रै गर्दा तरकारी तथा फलफुलमा विषादी प्रयोग भए नभएको पत्ता लाग्दैन । त्यसैले पोर्टेबल मेशिन खरिद गरेर प्रयोगशाला सञ्चालनमा ल्याउने प्रक्रिया सुरु गरिएको उपप्रमुख कार्कीले बताइन् । अहिलेसम्म भन्सार नाका हुँदै आयात हुने तरकारीको विषादी परीक्षण मात्रै हुने गरेको छ । तर, खुल्ला सीमानाकाका कारण यहाँ चोरी पैठारी भई आउने भारतको तरकारीमा विषादी रहेको नरहेको यकिन अहिलेसम्म भएको छैन । त्यस्तै स्थानीय रुपमा उत्पादन भईरहेको तरकारीमा समेत विषादीको मात्रा कति छ भन्ने अहिलेसम्म कहिंकतै परीक्षण भएको छैन ।
उपप्रमुख कार्कीले बजारमा बिक्रीका लागि राखिएका तरकारी तथा फलफुलको नमूना संकलन गरेर विषादी अवशेष द्रुत विश्लेषण गर्नका लागि प्रयोगशाला स्थापना गर्ने प्रक्रिया बढाइएको उनले बताइन् । ‘मेसिन पोर्टेबल हुनेरहेछ तर त्यसलाई निश्चित तापक्रम व्यवस्थापन गरेर राख्नुपर्ने भएकोले कुनै निश्चित स्थानमा प्रयोगशाला स्थापना गर्नेछौं’ उपप्रमुख कार्कीले भनिन्–बजारबाट नमूना संकलन गरेर ल्याएपछि तत्काल परीक्षण गर्ने र विषादी भएनभएको यकिन गरेपछि मात्रै बिक्री खुल्ला गर्नेसम्मका कार्य गर्दछौं ।
महानगरपालिकाले गत पुसमा सम्पन्न नगर अधिवेशनमा विषादी परीक्षणको व्यवस्था गर्नका लागि स्रोतको सुनिश्चित गरेको थियो । अहिले २० लाख बराबरले मेसिन तथा किटहरु खरिद गरिने जानकारी दिइएको छ । सामानहरुको खरिद प्रक्रिया सकेपछि ल्याब स्थापना र विषादी परीक्षणको काम थालिने दावी छ । चालु आर्थिक वर्ष भित्रैमा यी काम सम्पन्न हुने विश्वास उपप्रमुख कार्कीको थियो ।