विराटनगर । भारतले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि बिद्युत कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरु परेको गुनासो गरिएको छ । उद्योगीले भारतले बिद्युत कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुनसक्ने संभावना बढेको भन्दै चिन्ता समेत व्यक्त गरेका हुन् ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले गत पुसदेखि दैनिक ४ देखि ६ घण्टासम्म बिद्युत कटौती हुँदै आएको औद्योगिक क्षेत्रमा रातभर आपूर्ति बन्द हुने कुराले उद्योगीलाई समस्यामा पार्ने बताउनुभयो । उद्योग संगठनले बिद्युत आपूर्तिलाई सहज बनाईदिनुपर्ने भन्दै नेपाल बिद्युत प्राधिकरणलाई ध्यानकर्षण समेत गराईसकेको अध्यक्ष सुरानाले बताउनुभयो ।
मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले रातभर बिद्युत आपूर्ति बन्द हुने अवस्था आए उद्योगको उत्पादन पनि ७० प्रतिशत कटौती हुनसक्ने बताउनुभयो । सुनसरी–मोरङ करिडोरमा पाँच वर्ष यता सुख्खा मौसममा यो समस्या कायम रहँदै आएको थियो । तर, ट्रान्समिशन लाईन निर्माण भईसकेपछि समस्या नहुने आश्वासन पाएका उद्योगीले फेरी निराश हुनुपरेको राठीको भनाई छ ।
प्राधिकरण दुहबी ग्रीडका प्रमुख रोशन खड्काले भारतले चैत ३ गतेदेखि ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बिद्युत आपूर्ति बन्द गरेको जानकारी दिनुभयो । त्यसका कारण ५०० मेगावाट बिद्युत अपुग हुने भएकोले औद्योगिक क्षेत्रमा कटौती गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।