मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीले नयाँ इतिहास रचेर विजेता भएको छ ।
मोरङका १० क्याम्पस मध्ये स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ५ क्याम्पसमा अखिल क्रान्तिकारी तथा ३ क्याम्पसमा नेविसंघ र २ क्याम्पसमा अनेरास्ववियु विजयी भएको हाे । सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु तर्फबाट अखिल गठबन्धनका एलिस ओझा भारी मतका साथ सभापति पदमा बिजयी हुनु भएको छ । अन्तिम मत परिणाम अनुसार सभापतिमा ओझाले ९८५ मत ल्याउँदा नेवि संघका विजय ओझाले ६८६ मत ल्याउनुभयो । अखिल क्रातिकारी तर्फबाट बेबिन बुढाथोकीले अध्यक्षमा १३ मत मात्र ल्याउनु भयो । सचिवमा रोहन खत्रीले ९१९ मत ल्याएर विजयी हुँदा नेवि संघका अर्जुन दाहालले ८४१ मत ल्याएर पराजित हुनुभयाे । कोषाध्यक्षमा नेवि संघबाट सबिना थापा ९२४ मत ल्याएर विजयी हुनुभयो । अनिष पौडेलले ८३४ मत ल्याउनु भयो ।
प्रत्यक्षतर्फका ११ सिट मध्ये १० सिटमा अखिल गठबन्धन विजयी भएकाे छ। काेषाध्याक्षमा नेविसंघले १ सिटमा विजयी प्राप्त गरेको छ । समानुपातिक तर्फ एमाले निकट अनेरास्ववियुले ३ सिट , नेविसंघले ३ सिट , एकृकित समाजवादी निकट अनेरास्ववियुले २ सिट र माओवादी निकट अखिल क्रान्तिकारीले २ सिट गरि २१ सदस्यीय स्ववियु निर्वाचन सम्पन्न भएको सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिनुभयाे ।
सुकुनामा नेविसंघ विरूद्ध ५ संघठनले गठबन्धन गरेका थिए । सुकुनामा १ हजार १ सय ३७ महिला तथा ७ सय ११ जना पुरुषले मतदान गरेका थिए । सुकुना क्याम्पसमा ३ हजार ६८२ जना विद्यार्थी मतदाता रहेको तथा १८४८ मत खसेको निर्वाचन समिति संयाेजक सुकुदल लिम्बूले बताउँनु भयाे ।
तेसै गरि विराटनगरका दुई क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सभापति पदमा विजयी भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विराटनगरको डिग्री क्याम्पस तथा विराटनगर नर्सिङ क्याम्पसको नेतृत्व अखिल क्रान्तिकारीले हात परेर अघि बढाउँने भएको छ । डिग्री क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रीतम साह निर्वाचित हुनु भएको भएको छ । एमाले निकट अनेरास्ववियुबाट एउटा सदस्यमा श्रुति घिमिरे निर्वाचित हुनु भएको छ ।
विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित हुनु भएको छ। नर्सिङ क्याम्पसको सचिवमा कांग्रेस निकट नेविसंघका सम्मान ढकाल निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुबाट कृतिका कटुवाल निर्वाचित हुनु भएको छ।
जिल्लाकाे सबै भन्दा धेरै विद्यार्थी मतदाता रहेको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीका रोहित यादव सभापति पदमा निर्वाचित हुनु भएको छ । १११८ मत प्राप्त गर्नु भएको यादवले नेविसंघका प्रज्वल विष्ट(हाक्कु)लाई ४३ मतको अन्तरले पराजित गर्नु भएको हाे । त्यसैगरी सचिव पदमा नेपाल विद्यार्थी संघकी सुदिक्षा थापा मगर विजयी हुनु भएको छ । उहाँले ७४१ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेश कुमार यादवलाई १५३ मतले पराजित गर्नुभयाे।
कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकै रोशनकुमार पासवान निर्वाचित हुनु भएको छ । अन्य निर्वाचित सदस्यहरूमा गौतमकुमार मण्डल, मो साहिन, कौशलकुमार साह (तेली), सुसान्त बस्नेत, नविन बाबु तिवारी, रक्षक सुवेदी, एन्जिला काफ्ले, र रामदतकुमार मेहता रहनु भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए । क्याम्पसमा कुल ५९८४ जना मतदाता रहेकोमा २६३१ जनाले मात्र मतदान गरेको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डा. शुशिल अधिकारीले जानकारी दिनुभयो । उहाँले मतदान गर्न ३६२३ जना विद्यार्थी अनुपस्थित भएकाे उल्लेख गर्नुभयाे ।
तेसै गरि माेरङकाे लेटाङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका लेखनाथ दाहाल विजयी हुनु भएको छ । अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ३ जना सदस्य नेविसंघबाट विजयी हुनु भएको छ । २ जना सदस्य अनेरास्ववियुबाट विजयी हुनु भएको छ । लेटाङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २०२ मत खसेको थियाे । जम्मा २१६ जना विद्यार्थीमध्ये २०२ जनाले मतदान गर्दा १४ जना मतदानमा सहभागी भएनन् । लेटाङ क्याम्पसमा अनेरास्ववियुबाट निशान भुजेल र नेविसंघबाट दाहालको नेतृत्वमा प्यानल खडा गरेर चुनावी प्रतिस्पर्धा भएको थियाे ।
मोरङको मिक्लाजुङ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारी तथा अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ। निर्वाचनमा अखिल क्रान्तिकारीका सुजन घिमिरे सभापतिमा निर्वाचित हुनु भएको छ । घिमिरेले ७१ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका उम्मेदवार हेलिन आचार्यलाई पराजित गर्नुभयाे । आचार्यले ६० मत प्राप्त गर्नुभयाे । तेसै गरि सचिव पदमा राम थापा, कोषाध्यक्षमा विवीका आचार्य निर्वाचित हुनु भएको छ । सदस्य पदमा गुरु काफ्ले, अम्बिका राउत तथा राजन राई विजयी हुनुभयाे । यहाँ यसपटक अखिल क्रान्तिकारी तथा अनेरास्ववियुले गठबन्धन गर्दै संयुक्त प्यानल बनाएका थिए ।
कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित हुनु भएको छ ।
साथै माेरङकाे केरावारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित हुनु भएको छ । खदम क्याम्पसमा काङ्ग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनको संयुक्त गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुका उम्मेद्वार कन्दङ्वा विजयी हुनु भएको हाे । कन्दङ्वाले ५८ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका सिमान्त लुइँटेलले २८ मत प्राप्त गर्नुभयाे । त्यसैगरी कोषाध्यक्षमा पनि अनेरास्ववियुका सन्देश भण्डारी बिजयी हुनु भएको छ । भण्डारीले ५८ मत प्राप्त गर्दा गठबन्धनका फेमस बराइलीले २९ मत प्राप्त गर्नुभयाे । खदम क्याम्पसमा ११ सदस्यीय समितिका लागि ९ जना निर्विरोध निर्वाचित हुनु भएको छ ।
साथै माेरङकाे पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई तथा उर्लाबारी बहुमुखी क्याम्पसको सभापतिमा पनि नेविसंघकै पोषण आचार्य निर्वाचित हुनु भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मोरङका १० वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारी अगाडि देखिएको छ। जसमध्ये जिल्लाकाे उर्लाबारी तथा पथरी बहुमुखी क्याम्पसमा मात्रै सर्वसम्मत भएको छ । मोरङका ३ आंगिक तथा ७ सामुदायिक क्याम्पसमा निर्वाचन भएको हाे। जिल्लाकाे बेलबारी क्याम्पसमा भने चैत ९ गते निर्वाचन हुने जानकारी प्राप्त भएको छ ।