विराटनगर । विराटनगरमा ढाका कपडा महोत्सव सुरु भएको छ । नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले कोशीले प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम लगायतका क्षेत्रमा उत्पादन हुने ढाकालाई तराईका बजारमा प्रयोग बढाउने उद्देश्यसहित महोत्सवको आयोजना गरेको हो ।
बिहीबार विराटनगर जैन भवनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले महोत्सवको उद्घाटन गर्नु भएको थियो । उहाँले घरेलु उद्योग सञ्चालन गरेर ग्रामिण क्षेत्रको भरपर्दो आम्दानीको स्रोतको बजारीकरणका लागि महोत्सव फलदायी हुने बताउनु भएको थियो । उहाँले निजी क्षेत्रले ग्रामिण अर्थतन्त्रलाई पुर्नजागरण गराउने किसिमका कार्यक्रम आयोजना गर्दा त्यसले बसाँई सराई रोक्न सहयोग पुग्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले आगामी प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षक र सरकारी कर्मचारीलाई स्थानीय उत्पादन ढाकाका कपडा प्रयोग गराउने नीति समावेश गरिने बताउनुभयो ।
यसैगरी ढाका उत्पादन भईरहेका जिल्लाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले के र कस्ता आवश्यकता हुन् त्यसको पहिचान गरेर सरकार समक्ष कार्यक्रम प्रस्तुत गर्न समेत आग्रह गर्नु भएको थियो ।
तीनदिनसम्म चल्ने ढाका कपडा महोत्सवमा हस्तकला, सृजनशीलता, र उद्यमशीलतालाई उजागर गर्ने दावी गरिएको छ । नेपाली ढाकाले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै निर्यातको उच्च सम्भावना बोकेको भएपछि व्यवसायलाई परिस्कृत, प्रविधिमैत्री, र व्यावसायिक बनाउन नसक्दा अपेक्षित उपलब्धि हाँसिल गर्न नसकिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।
नेपाली ढाका कपडाको प्रवद्र्धन, स्थानीय उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यापारिक सम्भावनाहरूको खोजी तथा नेपाली महिलाहरूलाई उद्यमशीलतामा सशक्त बनाउनका लागि नै महोत्सवको आयोजना गरिएको बताउँदै अध्यक्ष राउतले ग्रामिण अर्थतन्त्रलाई कसरी जागृत गराउने भन्ने चिन्ता अब निजी क्षेत्रले लिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले यस अगाडी कृषि महोत्सव र श्रम रोजगार महोत्सव आयोजना गरेको महासंघले ढाका महोत्सव आयोजना गर्नुको उद्देश्य संभावित औद्योगिक क्षेत्रको सवलीकरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । गत भाद्र महिनामा कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषि एक्स्पोको आयोजना गरिएको थियो ।
महोत्सवमा उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले नेपालीहरु पुगेका देशमा ंनेपालको संस्कृति र परम्पराको प्रचार प्रसार भईरहेकोले यस्ता कार्यक्रममार्फत त्यसको प्रयोग बढाउनका लागि प्रोत्साहन पुग्ने र लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा उत्पादित ३० ढाका उद्योगका उत्पादनको स्टल रहेको छ । जहाँ कतिपय ढाका बुनाई उद्योगी महिलाहरुले तानसहित प्रदर्शनीमा उपस्थित भएका छन् ।