विराटनगर । गाईघाटको फ्यूजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा आज (बिहीबार) भएको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित गर्दै उदयपुर फाइनलमा पुगेको हो ।
उपाधि रक्षाको लागि उदयपुरले अब शुक्रबार हुने दोस्रो सेमिफाइलनमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्बलको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि उदयपुरका रितेस तामाङ्गले दुई गोल, सुनिल खड्का, दिपक मगर र दिवस राईले समान १–१ गोल गरे । इटहरीको तर्फबाट सुजन मगरले सान्तवना गोल फर्काए ।
खेल सुरु भएको ९ औं मिनेटमा उदयपुरका रितेस तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपक मगरले निकालेको क्रस पासलाई रितेसले जाली चुमाए । पहिलो हाफसम्म उदयपुर १–० गोलले अग्रता लियो । दोस्रो हाफपछि ४५ औं मिनेटमा इटहरीका सुजन मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी ल्याए । इटहरीका खेलाडी अभिषेक कालिकोटीलाई डिबक्स भित्र फल खेलेर लडाएपछि रेफ्री अनिल खवासले पेलान्टी दिए । पेलान्टीमा इटहरीका सुजनले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । त्यसपछि उदयपुरले खेलको रणनीति बदल्दै आक्रमक खेल पस्कियो । खेलको ६१ औं मिनेटमा उदयपुरका रितेस तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । दिपकले निकालेको पासलाई रितेसले गोलमा परिणत गरे । दोस्रो गोल गरेलगत्तै उदयपुरका सुनिल खड्काले ६२ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । दोस्रो हाफपछि इटहरीलाई दवाबमा राखेको उदयपुरले अतिरिक्त समयमा थप दुई गोल गर्यो । दिपक मगर र दिवस राईले खेलको अतिरक्ति समयमा समान १–१ गोल गर्दै टिमको जित सुनिश्चत गरे । अतिरिक्त समयमा सनम राईले पास निकालिदिएका थिए । प्रतियोगितामा दुई गोल गर्ने उदयपुरका रितेस तामाङ्ग म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार रुपैयाँ पाए ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आइतबार हुने मिल्स गोल्डकप फुटबल टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताका भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।