विराटनगर । विराटनगरको दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्र नजिकबाट पक्राउ परेका छन्।
विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई बिहीबार राति ८:३० बजेतिर खुकुरी हानेर फरार भएका थिए।
घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि हाल नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले आवर विराटनगरलाई बताए। सुरुमा कोशी अस्पताल लगिएकोमा त्यहाँबाट रेफर गरेर विराट नर्सिङ होम लागिएको थियो। विराटले पनि रेफर गरेपछि नोबेल पुर्याइएको हो। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गुप्ताले सापकोटाको घरमा काम गर्ने गरेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। आपसी विवादमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीको भनाइ छ। यद्यपि, प्रहरीले उनीहरुबीचको विवाद कस्तो प्रकृतिको थियो भनेर खुलाएको छैन।
घटनापछि फरार भएका सापकोटालाई विराटनगरकै नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार राति नै पक्राउ गरिएको चिमरियाले बताए। घरअगाडि खुकुरी प्रहार गरेका सापकोटा भान्सा कोठामा लुकेर बसेका थिए। प्रहरी पुग्नसाथ कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भएका थिए।
"घटनापछि भारततिर भाग्दै रहेछन्। भारत जान नपाइनकन सीमा क्षेत्रबाट पक्राउ गरिएको छ। २ जनाबीचको विवादपछि खुकुरी हानेको देखिन्छ। तर, किन र के कारणले विवाद भयो भनेर खुलेको छैन। घटनामा संलग्न व्यक्ति लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ," एसपी चिमरियाले भने।
घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।