विराटनगर । सञ्चारमाध्यममा प्रकाशित समाचार सामाजिक सञ्जाल फेसबुक पेजमा शेयर गर्दा अपमानजक टिप्पणी लेख्ने एक व्यक्ति बिद्युतीय कारोबार ऐन अन्तरगतको अपराध आरोपमा पक्राउ परेका छन् । मोरङ सुन्दरहरैंचा नगरपालिका १० घर भएका ६२ वर्षीय देवराज कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित महिलाले जाहेरी दिएकी थिइन् । व्यक्तिगत चरित्रमाथि आक्रमण गरि अपमानजक टिप्पणी, महिलाद्वेष, अभिव्यक्ति र अपशब्दको समेत प्रयोग गरी आत्मासम्मानमा चोट पुर्याउने गरी बिद्युतीय कारोबार ऐन अन्तरगतको अपराध गरेको देखिएपछि पक्राउ गरेर अनुसन्धानको प्रक्रिया थालिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले कार्की विरुद्ध जाहेरी परेपछि अदालतबाट पक्राउ अनुमतिको पुर्जी जारी गराइएको थियो । त्यसपछि उनलाई बिहीबार घरबाटै पक्राउ गरेर थप अनुसन्धानका लागि म्याद थप्ने प्रक्रिया सुरु गरिएको हो ।
महिलावादी अभियन्ता तथा अधिवक्ता र सामाजिक रुपमा सक्रिय महिलाले गत चैत १ गते बेलुका आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइन खबरले प्रकाशन गरेको ‘काठमाण्डौं स्कुल अफ लका सञ्चालक संग्रौलामाथि विद्यार्थीलाई दुव्र्यवहारको आरोप’ भन्ने शिर्षकको समाचार शेयर गरेकी थिइन् ।
त्यसमा गरिएको कमेन्टमध्ये कार्कीले व्यक्तिगत चरित्रमाथि आक्रमण गर्ने गरी अपमानजनक टिप्पणी गरेका थिए । कार्कीले चैत २ गते बिहान उक्त सञ्चारमाध्यमको समाचार शेयर गरेको फेसबुक पेजमा बिहान ८ः२५ बजेको समयमा कमेन्ट लेखेका थिए । जुन कमेन्टमा पीडित महिलाको चरित्र हत्या गरिएको छ । सामाजिक सञ्जालको माध्यमबाट चारित्रिक तथा मानसिक हिंसा गैरकानुनी रहेको भन्दै महिलाले बिद्युतीय कारोबार ऐन अनुसार हदैसम्मको कारवाही माग गर्दै चैत ३ गते उजुरी दिएकी थिइन् ।