इन्दु साह
विराटनगर । चैत–वैशाख महिना हावा हुरी चल्ने मौसम सुरु भएसँगै कोशी प्रदेशमा आगलागीका घटनाहरू बढ्न थालेको छ। कोशी प्रदेशका विभिन्न स्थानमा आगलागिका घटनाहरु बढिरहेकोले यस समयमा सबै नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक देखिएको छ ।
प्रदेश विपद् व्यवस्थापन केन्द्रका अनुसार गत वर्ष यसै अवधिमा आगलागीका घटनाहरू अत्यधिक मात्रामा बढेको थियो। यस वर्ष पनि सोही प्रवृत्ति देखिन थालेको छ। कोशी प्रदेश प्रहरी कायलयको आगलागिको घटनाको तथ्याडङक हेर्दा चालु आर्थिक वर्ष २०८१÷०८२ को चैत्र ६ गतेसम्म आइपुग्दा ७ सय ८४ स्थानमा आगलागी हुँदा ३ सय ३७ वटा घर प्रभावित भएको छ ।
यो अवधीमा आगलागी घटनामा परी ५ जना मानिसको मृत्यु भएको छ । भने ५८ जना मानिस घाईतेभएका छन् । यसैगरी एकहजार छ सय ८२ चौपायाको मृत्यु भएको छ भने ३ सय ३७ चौपायाँ घाईते भएको छन् । कुल क्षति ५३ करोड ९२ लाख ७५ हजार ९८० रहेको छ ।
घटनापछि नेपाल प्रहरीका ४ हजार २ सय ४९ जना जनशक्ति नियन्त्रणका लागि परिचालन गरिएको छ । चैत–वैशाख महिनामा हावा हुरी अधिक चल्ने र हावाको गति तीव्र हुने भएकोले एक ठाउँबाट निस्केको सानो आगोको झिल्को पनि छिटै फैलिन सक्छ, जसले ठूलो क्षति पुर्याउन सक्छ।
गत सोमबार विराटनगर–१ शंकरचौकमा भएको आगलागीमा चारवटा घर जलेर नष्ट भएको थियो। प्रहरीका अनुसार तीव्र हावाका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो र तीनवटा दमकल परिचालन गर्नुपरेको थियो।
आर्थिक वर्ष २०८०÷०८१ मा कोशी प्रदेशभर १ हजार ७ सय ३१ स्थानमा आगलागी हुदा ७ सय ५८ घर प्रभावित भएका थिए । जसमा २० जनाको मृत्यु र एक सय ३४ जना घाइते भएका थिए । यता ७ हजार ३ सय ६५ पशुचौपायाँ को मृत्यु भएकोथियो भने १ सय ९२ घाईते भएका थिए । कुल क्षति एक अर्ब ११ करोड १६ लाख ७ हजार ४ सय २५ रहेको थियो। ११ हजार २ सय ६७ प्रहरी परिचालन भएका थिए ।
यस्तै आर्थिक वर्ष २०७९÷०८० मा प्रदेशभर १ हजार १५४ स्थानमा आगलागी भएको थियो । जसमा १५ जनाको मृत्यु र ४६ जना घाइते भएका थिए। त्यसैगरी १ हजार ५३७ पशुचौपाया मारिएका र ७९ घाइते भएका थिए। आगलागी दुर्घटनाबाट ५१६ घरपरिवार प्रभावित भए भने अनुमानित एक अर्ब १३ करोड ८१ लाख ८८ हजार ७७४ बराबरको क्षति भएको थियो। घटना नियन्त्रणका लागि ७ हजार ७६ प्रहरी परिचालन गरिएको थियो।
चैत–वैशाख महिनामा अत्यधिक सतर्कता अपनाउनु जरुरी छ। खाना पकाउने र आगो बाल्ने समयमा विशेष होसियारी अपनाउनुपर्छ। साथै, यो समयमा घरबाहिर आगो बाल्न वा खरानी फाल्न पूर्ण रूपमा निषेध गर्नुपर्छ। प्रायः घटनाहरू मानवीय त्रुटिका कारण हुने भएकाले सावधानी अपनाए यस्ता घटनाहरू न्यूनीकरण गर्न सकिन्छ।
आगलागीबाट बच्न अपनाउनुपर्ने सावधानीहरूः
१) खाना पकाइसकेपछि चुलो र आगो पूर्ण रूपमा निभाएको सुनिश्चित गर्ने
२) हावा हुरी चलेको बेला घर बाहिर आगो नबाल्ने र भित्र पनि विशेष सावधानी अपनाउने
३) ग्यास सिलिन्डर र चुलाहरूको नियमित जाँच गर्ने
४) विद्युतीय सामग्रीहरू प्रयोग नगर्दा स्विच बन्द गर्ने
५) बालबालिकाहरूलाई सलाई, लाइटर जस्ता वस्तुहरू नदिने
६) खेतबारीमा पराल वा सुकेका पातपतिङ्गर जलाउन नहुने
७) वन क्षेत्र नजिक बस्ने नागरिकहरूले विशेष सतर्कता अपनाउने लगायतका सावधानी अपनाउन सकिन्छ ।