विराटनगर। विराटनगरस्थित सिटी कलेज र कुमारी बैंक लिमिटेडको संयुक्त आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
"Global Money Week – 2025" को अवसरमा आयोजित यो कार्यक्रमले युवा विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गर्न र डिजिटल बैंकिङ्गको महत्व बुझाउन केन्द्रित थियो।
कुमारी बैंक लिमिटेड, कोशी प्रदेशका प्रमुख श्री मनीष श्रेष्ठद्वारा संचालित कार्यक्रममा डिजिटल बैंकिङ्ग, बचतको महत्व, ऋण व्यवस्थापन, र लगानीका अवसरहरूबारे व्यापक जानकारी प्रदान गरियो। उनले जोड दिएर भने, "वित्तीय साक्षरताले व्यक्तिगत आर्थिक स्थायित्व मात्र नभई, समग्र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउँछ। जब नागरिकहरू आर्थिक रूपमा सचेत हुन्छन्, तब राष्ट्रको पूँजी निर्माण, रोजगारी वृद्धिलगायत विकास सूचकहरूमा सकारात्मक प्रभाव देखिन्छ।"
विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको यो तालिमले बचत गर्ने बानी, लगानीका अवसरहरू, तथा डिजिटल बैंकिङ्ग सेवाहरूको उपयोगबारे जानकारी प्रदान गर्यो। सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिए। उनीहरूले भने, "यो प्रशिक्षणले हाम्रो आर्थिक निर्णय क्षमता सुधार्न धेरै मद्दत गरेको छ।"
वित्तीय साक्षरताले व्यक्तिगत र राष्ट्रिय स्तरमा दीर्घकालीन लाभ पुर्याउने भएकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने आयोजक संस्थाहरूले बताएका छन्।
उक्त कार्यक्रममा ५० जना भन्दा बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।