विराटनगर । इष्टर्न कलेज अफ इन्जिनियरिङ्गमा आयोजित खेलकुद सप्ताह २०८१ भव्यताका साथ सम्पन्न भएको छ।
विगत वर्षहरूमा जस्तै यस वर्ष पनि कलेजले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरेको थियो। फागुन २७ गतेबाट खेलकुद सप्ताह सुरु भई चैत ७ गते समापन भएको हो । समापन समारोहको अध्यक्षता इष्टर्न कलेज अफ इन्जिनियरिङ्गका प्रिन्सिपल ई. अमित सुरानाले गरेका थिए ।
त्यसैगरी अतिथिहरू, वरिष्ठ प्राध्यापकहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। खेलकुद सप्ताहमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, हाजिरी जवाफ, स्याक रेस र म्युजिकल चेयर लगायतका प्रतियोगिताहरू आयोजना गरिएको थियो। विद्यार्थीहरूको हौसला बढाउने उद्देश्यले शिक्षक तथा कर्मचारीहरूले पनि आफ्नो समूह बनाई खेलकुदमा सहभागिता जनाएका थिए। समापन समारोहमा प्राचार्य ई. अमित सुरानाले विद्यार्थीहरूमा शिक्षाको साथसाथै खेलकुदको महत्व र यसले व्यक्तित्व विकासमा पुऱ्याउने योगदानबारे पनि बताए ।
प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरे । प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई पुरस्कार तथा मायाको चिनो वितरण गरेर कार्यक्रमको औपचारिक समापन गरिएको थियो। यस वर्षको खेलकुद सप्ताहको संयोजन सिभिल इन्जिनियरिङ्ग आठौँ सेमेस्टरका विद्यार्थी अश्मिक भट्टराईले गर्नुभएको थियो। उहाँको नेतृत्व र अन्य विभिन्न सेमेस्टरका विद्यार्थीहरूको सक्रिय सहभागिताका कारण कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ । खेलकुद सप्ताहले विद्यार्थीहरूमा टीम वर्क, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुऱ्याएको कलेजका शिक्षकहरूले बताएका छन् ।