विराटनगर । मोरङमा प्रहरीले अपराधका घटना विशेषका लागि हटस्पट क्षेत्रको रुपमा मार्किङ गरेको छ । अपराध हुनु अगावै विशेष निगरानी गर्नुपर्ने स्थानको रुपमा प्रहरीले लागुऔषध, सवारी दुर्घटना, कुटपिट झैझगडा, चोरी र आत्माहत्या हुने स्थानहरुको मार्किङ गरेर सचेत तथा सचेतना गराउँदै आएको हो ।
मोरङमा लागुऔषधको हटस्पटको रुपमा सीमा क्षेत्र, विराटनगर महानगरपालिकाको रानी र बुधनगरलाई मार्किङ गरिएको हो । धेरै पटक लागुऔषधका घटना दोहोरिने भएका कारण यस क्षेत्रबाट हुने लागुऔषधसँग सम्बन्धित गतिविधि नियन्त्रणका लागि प्रहरी परिचालित हुने गरेको छ । यसैगरी मोरङमा सवारी दुर्घटनाका लागि हटस्पटको रुपमा विराटनगरको बरगाछी, निमुवा र मुख्य राजमार्गलाई राखिएको छ । जिल्लाभर भईरहेका दुर्घटनाको तथ्यांक विश्लेषण गरेर यी क्षेत्रलाई हटस्पटको रुपमा मार्किङ गरिएको हो ।
मोरङ प्रहरीका अनुसार कुटपिट झैझगडाका लागि विराटनगरको केशलिया, कटहरी गाउँपालिका र बुढीगंगा हटस्पट रहेका छन् । झैझगडाका घटना बारम्बार हुने समस्या रहेका यी स्थान प्रहरीको हटस्पटको रुपमा सूचिकृत रहेका छन् । चोरीका हटस्पटको रुपमा विराटनगरका अस्पताल र राजमार्ग क्षेत्र हटस्पट मानिएको छ । मोरङमा आत्माहत्याको हटस्पटको रुपमा बेलबारी र राजमार्ग दक्षिणलाई मार्किङ गरिएको छ ।
प्रहरीले हटस्पट क्षेत्र घोषणा गरेका घटनाहरुको मुद्दा तथ्यांक हेर्दा मोरङमा चालु आर्थिक वर्षको चैतसम्म १११ वटा चोरी भईसकेका छन् । आत्माहत्याका मुद्दा १५६, लागुऔषध २३५, अभद्रव्यवहार २१६ रहेका छन् । जिल्लामा चालु आर्थिक वर्षको चैतसम्म एक हजार ४३२ दुर्घटना भईसकेका छन् । जसमा ८४ जनाको मृत्यु र दुईहजार ३५२ जना घाईते भएको तथ्यांक छ ।