विराटनगर । जिल्ला जनस्वास्थ्य कार्यलय मोरङ र विराटनगर महानगरपालिकाले सञ्चालन गर्न रोक लगाएको विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टरले अटेर गरी विरामी भर्ना गरेर उपचार गरिरहेको पाइएको छ । विराटनगर ३ स्थित कोशी राजमार्ग अन्र्तगत दुधफारम अगाडी सञ्चालित विराट निदान हस्पिटललाई यस अघि नै विराटनगर महानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यलय मोरङले दर्ता प्रक्रियाका कागजपत्र पुरा गरेर मात्र विरामी भर्ना गर्न आदेश दिएको थियो ।
विराट निदान हस्पिटलले इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले गत बैसशाख देखी नै दर्ता प्रक्रियामा आउन निर्देशन दिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यलय मोरङले पनि अस्पतालको मापदण्ड पुरा गरेर अस्पताल संचालन गर्न आग्रह गरेको थियो । तर, विराट निदानले सरकारका दुई निकायले दिएको निर्देशन विपरित बिरामी भर्ना गर्दै आएको हो । यस अगथाडी नियामक निकायहरुले दर्ता प्रक्रियाका काम पुरा नहुञ्जेल सम्म हस्पिटलमा ताल्चा लगाइएको थियो ।
हस्पिटलले गत आईतबारदेखी अन्य स्थानबाट रेफर भई आएका विरामी भर्ना गरेर उपचार गर्न थालेको दावी गरिएको छ । एम्बुलेन्सको मिलेमतोमा ईलाम, धनकुटा, लहानका ४ जना विरामीलाई आईसियुमा राखेर उपचार गरिरहेको हो । ४ जना जना विरामीहरुलाई विराटनगर धरान लगायतबाट एम्बुलेन्सले विराटनगरका ठूला अस्पतालमा ल्याएका थिए । तर, विराट निदानले उनीहरुसँग सेटिङ गरेर बीचमै भर्ना गरेको थियो । विरामीका आफन्तहरुले समेत यो कुरालाई पुष्टि गरेका छन् ।
हस्पिटलका सुचना अधिकृत बिक्की यादवका अनुसार सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यलय मोरङ र स्वास्थ्य मन्त्रालयमा कगजपत्र पठाईसकेको बताएका छन् । तर, कागजात पठाएपनि अनुमति आउनु अगावै सञ्चालन थालिएको छ । जनस्वास्थ्य कार्यालयले अहिले सञ्चालन गर्न भनेको छैन । यादवसँग यस विषयमा बुझ्दा उनले भने, ‘खै यो त मलाई केही थाहा छैन, भर्खर म त यहाँ काम गर्न थालेको हो, त्यो अरु कुरा त माथी नै बुझ्नुपर्छ ।’ यस विषयमा हस्पिटलका संचालक रहेका अजय यादवसँग पनि कुरा गर्ने प्रयास गरेपनि उनी सम्पर्कमा आउन चाहेनन् ।
यता जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार हस्पिटललाई कानुनी प्रकृया पुरा भएपछि मात्र संचालन गर्न भनेको जानकारी दिएका छन् । उनले सञ्चालन भईसकेको हो भने अस्पतालका सञ्चालकलाई कारवाहीको दायरामा ल्याउने र बिरामीलाई अन्य अस्पतालमा स्थान्तरण गर्ने बताएका छन् । उक्त हस्पिटल रेड प्लस अस्पतालका सञ्चाकहरूले नै नाम फेरेर बिराट निदान सञ्चालन गर्दै आएका थिए । तर, पुनः संचालकहरुबीच कुरा नमिल्दा केही सञ्चालकहरुले भने शेयर निकालेको बुझिएको छ ।