विराटनगर । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा आगलागीमा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । त्यहि घटनामा दुईजना सर्वसाधारण समेत घाईते भएका छन् । आगलागीपछि उद्धारका क्रममा सातजना घाईते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका हुन्।
घाईतेको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य बताइएको छ । सुनसरीको इटहरी चोक नजिकै रहेको ९ तले भवनमा बुधबार बिहानदेखि आगलागी भएको थियो । अहिले आगो नियन्त्रणमा आईसकेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिएका छन् ।
‘बिहान ९ः४५ देखि आगोले ठूलो रुप लिएपछि भित्र ११ जना फसेकालाई उद्धार गरिएको छ । उद्धारका लागि हेलिकप्टर पनि मगाइएको थियो । काठमाडौंबाट आइपुग्न समय लाग्ने भएपछि डोरीको सहायताले सुरक्षाकर्मीले ११ जनाको उद्धार गरेको प्रजिअ मिश्रले जानकारी दिएका छन् ।
आगो नियन्त्रणका लागि १२ वटा दमकलको सहायता लिइएको थियो । क्रेनको सहायताले पनि लिइएको थियो । नेपाल आयल निगमबाट फोम, फायरबल लगायतका सामग्री ल्याएर आगो नियन्त्रण सफल भएको थियो । सेन्ट्रल प्लाजाको छैटौं तलामा रहेको बरण्डा होटलको रेष्टुराँ, किचन र पाँचौं तलामा रहेको अफिस कक्षमा आगोले क्षति गरेको छ ।