विराटनगर । समाज विकास र सुचना प्रविधिको बढ्दो प्रयोगसँगै अपराधका घटना बढ्दो क्रममा देखिएको छ । नियन्त्रण र अनुसन्धानमा समेत प्रविधि प्रयोग बढ्दै गएपनि मोरङमा दशवर्षमा अपराधका घटना दोब्बर भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङको चालु आर्थिक वर्षमा सार्वजानिक गरिएको प्रतिवेदनमा अपराध प्रवृत्ति फेरिएर बढ्दै गएको देखाइएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि २०८०/०८१ सम्मको अपराध प्रवृत्ति दोब्बर भन्दा पनि माथि देखिन्छ । चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांक हेर्दा विभिन्न किसिमका अपराधसँग सम्बन्धित घटना मात्रै २ हजार ४०४ संख्यामा भई मुद्दा प्रक्रियामा गएको छ । दशवर्ष अगाडी २०७१/२०७२ मा प्रहरीसम्म यस्ता घटना एक हजार ११८ वटा मुद्दाको रुपमा दर्ता भएका थिए ।
दशवर्षदेखि लगातार हेर्दा २०७२-२०७३ मा केहि संख्या घटेको थियो । यो वर्ष ९७१ मुद्दा दर्ता भएका थिए । २०७३-०७४ मा एकहजार १८८, २०७४-२०७५ मा एकहजार ६६३ पुगेको थियो । त्यसपछि २०७५-२०७६ मा अपराधका घटना बढेर एक हजार ९०३, २०७६-२०७७ मा एक हजार ६६४, २०७७-२०७८ मा एक हजार ७९५, २०७८-२०७९ मा एकहजार ९३० पुगेको तथ्यांकले देखाउँछ । प्रहरीमा अनुसन्धान तहसम्म पुगेर मुद्दा दर्ता भएका मुद्दा २०७९-२०८० मा पुग्दा दुईहजार ३०६ रहेको छ । चालु आर्थिक वर्ष २०८०-२०८१ मा दुईहजार ४०४ पुगेको छ ।
प्रहरी अधिकारीका अनुसार पछिल्लो वर्षहरुमा बैकिङ कसुरका मुद्दा, लेनदेनका मुद्दा, ठगीका मुद्दा, मिटरब्याजका मुद्दा बढेका छन् । त्यस बाहेक अनलाइन ठगीका मुद्दाको चाप समेत प्रहरीम उतिकै बढेका छन् । बैकिङ कसुर, अभद्र व्यवहार, लागुऔषध, आत्माहत्या, चोरी जस्ता मुद्दा शिर्षस्थानमा रहेका छन् ।