प्रेम देवान
विराटनगर । भवनका भित्ता भत्किएका छन् । माथि फर्किएर हेर्यो भने सिलिङ भत्किएर टाउकोमा बज्रेला भन्ने मनमा डर पैदा हुन्छ । कोठामा राम्रोसँग काम गर्न सक्ने वातावरण छैन । कुनबेला सिलिङ भत्किन्छ र टाउकोमा लाग्छ भन्ने डरैडरमा कर्मचारी काम गरिरहेका हुन्छन् ।
तस्वीरमा देखिएको दृष्य त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस तथा कोशी प्रदेशको शैक्षिक धरोहरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको हो । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा रहेको यो क्याम्पसले मुलुकलाई मन्त्रीदेखी राष्ट्रपति सम्म दिएको छ । अझ भन्नुपर्दा नेता त कति जन्मिए जन्मिए कुनै लेखा छैन ।
तस्वीरमा देखिएको दृष्यले साच्चिकै तिनै नेता र राष्ट्रपति जन्माउने महेन्द्र मोरङ क्याम्पस नै हो र भन्ने प्रश्न खडा हुन्छ । झटट् हेर्दा कुनै डर लाग्दो भुतको फिल्म सुटिङ गर्ने त हैन भन्ने भान हुन्छ । ५० बर्ष भन्दा पुरानो भवनमा काम गर्न वाध्य छन् अहिले महेन्द्र मोरङ क्याम्पसका १६ जना कर्मचारीहरु । उक्त भवन क्याम्पसको प्रशासनिक भवन हो । तर अहिले उक्त भवनमा डरै डरको भरमा कर्मचारीहरु काम गर्नुपर्ने वाध्यता छ । उक्त जीर्ण भवनमा क्याम्पस प्रमुख , सामान्य प्रशासन शाखा, भण्डारण शाखा, कर्मचारी प्रशासन शाखा, लेखा शाखा, शैक्षिक प्रशासन शाखा, परीक्षा शाखा दर्ता चलानी शाखा, विधुत सप्लायर्स शाखा लगायत रहेका छन् ।
२०७३ सालमा नै उक्त भवन रेड जोन भनेर रेड स्टीकर टासिएको थियो । तर, पनि अहिले उक्त भवनमा दैनिकी जसो डरै डरको भरमा काम गर्नुपरेको शैक्षिक प्रशासन शाखाका कर्मचारी प्रमोद कामतले गुनासो गरे । क्याम्पसको प्रशासनिक भवनको भौतिक संचरना जीर्ण र कमजोर बन्दै गएको छ । कुनबेला टाउकोमा सिलिङ झर्ने हो कुनै ठेगान छैन कामतले भने, ‘हामीले डरै डरको भरमा छौँ, क्याम्पस प्रमुखलाई धेरै पटक जानकारी गराएको तर कुनै रेस्पोन्स छैन ।’ मेरो उमेर भन्दा जेठो भवनमा काम गरिरहेका छौँ हामीलाई निकै ग्राहे छ । उनले भने ‘हामीले कुनै समय हेलमेट नै लगाएर काम गर्नुपर्ने वाध्ययता थियो ।’
उता कर्मचारी प्रशासनिक शाखाका मुख्य कार्यालय सहायक दिपेन्द्र मण्डल त झनै चारै तिर चर्किएको र फुटेको सिलिङ मुनि बस्छन् । मण्डल भन्छन्,‘धेरै बर्ष भयो डरै डरको भरमा काम गर्नुपरेको , खै कहिले नयाँ भवन बन्छ र हामी डर त्रासबाट मुक्त हुने हो । सिलिङ्का प्लाष्टरहरु कहिले काही आफै झर्छ काम गर्दागर्दै पनि हामी तर्सने गरेका छौं, मण्डलले भने ।
हुन त पुरानो जीर्ण भवनलाई सार्ने भनेको लामो समय पनि भईसक्यो तर नयाँ भवन नबनी सकेकाले पुरानै भवनमा बस्नु पर्ने वाध्यता छ । राष्ट्रपति कार्यलयबाट ३ करोड ८० लाख बढी रकम नयाँ प्रशासनिक भवन निर्माणको लागि बिनियोजन भएको थियो । नयाँ भवन निर्माणको लागि ५ बर्ष बढी समयदेखी काम सुरु भएको छ । तर भवनको पिलर बाहेक अन्य काम हुन सकेको छैन । अहिले भवन निर्माणको ठेक्का लिने कम्पनी नै सम्पर्कविहीन छ ।
यता क्याम्पस प्रमुख डा.राम अवतार सरन स्वयम आफुहरु डराई डराई काम गर्नुपर्ने वाध्यता रहेको सुनाउँछन् । हाम्रो रहर हैन वाध्यता हो, पुरानो भवनमा बस्नुपर्ने । भवनको भौतिक संरचना जीर्ण छ, सानो भुईचालो आयो भने पनि भत्केला भन्ने डर छ । लाईब्रेरी त झनै डरमर्दो छ । भवन पुरै जीर्ण छ । पानी पर्यो भने पनि भित्र पानी चुहिने खालका छन् । यो विषयमा विश्व विद्यालय र रजिष्टार कार्यलयमा पनि जानकारी गराइएको भएपनि सुनुवाई भएको छैन ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सबैभन्दा पुराना तथा प्रमुख क्याम्पस मध्ये एक हो । यो क्याम्पस लामो समयदेखि उच्च शिक्षाको केन्द्रबिन्दु रहँदै आएको छ । तर, पछिल्लो समय क्याम्पसको भौतिक संरचना र व्यवस्थापन पक्ष कमजोर बन्दै गएका कारण पनि विद्यार्थीको सख्यामा कमि आईरहेको छ । क्याम्पसमा हाल ५ हजार ९ सय ६८ जना विद्यार्थी अध्ययनरत छन् । यहाँ अहिले पनि २८ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । क्याम्पसलाई उचित समयमा सुधारात्मक कदम चालिएन भने यस ऐतिहासिक क्याम्पसको शैक्षिक गुणस्तरमा अझ गिरावट आउने पक्कै देखिन्छ ।