विराटनगर । विराटनगर-१६ मा रहेको श्री दरहिया कृषि सहकारी संस्था लिमिटेडको पहिलो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
आज (शनिबार) भएको साधारण सभामा संस्थाका अध्यक्ष कुल प्रसाद खतिवडा (अनिल खतिवडा) को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मोरंग क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल प्रमुख अतिथिको रूपमा रहेका थिए।
विशिष्ट अतिथिका रूपमा जीवन विकास समाजकी अध्यक्ष रिबोल मण्डल, अतिथिहरूमा विराटनगर महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरे, कृषि शाखाका प्रतिनिधिप्रबिन पराजुली, समाजसेवी रामभजन मण्डल, रामा मण्डल र आश नारायण यादवको समेत उपस्थिति रहेको थियो।
वरिष्ठ संगीतकर्मी रामा मण्डल हालै विद्यापति पुरस्कार कोषबाट सम्मानित तथा पुरस्कृत भएका थिए। उनको समेत उपस्थिति रहेको थियो।
प्रमुख अतिथि मण्डलले सहकारीको महत्व र कृषकको समृद्धिको लागि सहकारीले गर्न सक्ने योगदान बारे प्रकाश पारेका थिए । उनले बीउ बिजन, मलखाद र सिँचाइका सामग्रीहरूको सहज उपलब्धता सुनिश्चित गर्न सहकारी संस्थाले अग्रसरता लिनुपर्नेमा जोड दिए । साथै, कृषिमा आधारित आधुनिक प्रविधि र तालिममार्फत किसानको क्षमता अभिवृद्धि गर्ने योजना पनि अघि सार्नुपर्ने धारणा व्यक्त गरे ।
त्यसैगरी संस्थाका अध्यक्ष कुल प्रसाद खतिवडाले स्वागत मन्तव्य दिँदै सहकारीको स्थापना उद्देश्य, हालसम्मको प्रगति तथा आगामी योजनाहरू प्रस्तुत गरेका थिए । उनले किसान मैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै संस्था किसानको हितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी अतिथिहरूले सहकारी संस्था स्थापनाको सराहना गर्दै यसको दीर्घकालीन सफलता र प्रभावकारी सेवा प्रवाहका लागि शुभकामना व्यक्त गरे। उक्त साधारण सभा किसान, सांस्कृतिक व्यक्तित्व तथा स्थानीय समुदायबीच सहकार्य, समन्वय र सशक्तिकरणको सन्देश बोकेर सम्पन्न भएको छ।