विराटनगर । डिपिएस विराटनगरले प्रिस्कुल तहका विद्यार्थीहरूको दिक्षान्त समारोह आफ्नै विद्यालयको सुविधासम्पन्न हलमा भव्यताका साथ सम्पन्न गरेको छ। अभिभावकहरूको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रम दीप प्रज्वलनबाट सुरु गरिएको थियो।
कार्यक्रमको सुरुमा राष्ट्रियगान र स्वागत नृत्य प्रस्तुत गरिएको थियो। विशेष गरी कक्षा १ का नानीबाबुहरूको आकर्षक नृत्य प्रस्तुतिले कार्यक्रममा नयाँ ऊर्जा थपेको थियो। त्यसैगरी, मोबाइल विषयमा केन्द्रित नृत्य मनोरञ्जनात्मकका साथै सन्देशमूलक समेत रहेको थियो।
समारोहमा ट्यालेन्ट सो अन्तर्गत विभिन्न विद्यार्थीहरूले स्केटिङ, कार्ड बिलिङ, कविता तथा कथा वाचन प्रस्तुत गरेका थिए। शिक्षक र विद्यार्थीको सम्बन्ध झल्काउने विशेष प्रस्तुतिमा शिक्षकहरू विद्यार्थीसँग मिलेर नृत्य गर्दा अभिभावकहरूमा उत्साह थपिएको थियो।
कार्यक्रमको अन्तिम चरणमा विद्यार्थीहरूले विद्यालयमा बिताएका पलहरू पर्दामा देखाइँदा अभिभावकसँगै विद्यार्थीहरू पनि ती क्षणहरूमा पुगेको अनुभूति गरिरहेका थिए।
समारोह अवसरमा विभिन्न विधामा उत्कृष्ट भएका नानीबाबुहरूलाई प्रमाणपत्रका साथै एक-एक वटा बिरुवा समेत प्रदान गरिएको थियो। सधैँ नयाँ र आधुनिक सोच अँगाल्ने यस विद्यालयले यस पटक सर्टिफिकेटसँगै उपहारमा बिरुवा दिने अभिनव पहल गरेको थियो।
विद्यालयका प्रिन्सिपलका अनुसार बालबालिकाहरूलाई बालमैत्री वातावरणमा मनोरञ्जनात्मक विधिबाट व्यवहारिक र प्रयोगात्मक ज्ञान दिँदा उक्त सिकाइ दीर्घकालीन हुने बताउनुभएको छ।