विराटनगर । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको तयारी तिब्र पारिएको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित भोली चैत्र २७ गते पर्यटन वर्षको शुभारम्भ गर्न लागिदै छ ।
कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भको तयारी गरिएको छ । चैत्र २७ गते तेह्रथुमको तीनजुरेबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको शुभारम्भ गरिने भएको छ । पर्यटन बर्षका मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको बताएका छन् ।
कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी पनि गरेको छ । यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा अनावश्यक रूपमा झन्झट नदिने र चेक जाँच नगर्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ ।
पर्यटन वर्ष भव्यताका साथ मनाउनको लागि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति निर्माण गरी कामलाई अगाडि बढाइएको छ । कोशी प्रदेश सरकारले पर्यटन कार्यालय काँकरभिट्टा र धरानलाई समेत यो कार्यमा परिचालन गरेको छ । कोशी प्रदेश सरकारले ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गरी ती पर्यटकीय केन्द्रहरुको योजनावद्ध विकासमा लाग्ने घोषणा समेत गरिसकेको छ ।