विराटनगर । बाक्लोबस्ती, विद्युतीय तथा आगो उत्पन्न गर्ने सामग्रीको बढी प्रयोग र ठुला साना धेरै संख्यामा उद्योग सञ्चालन रहेको विराटनगर आगलागीको जोखिममा सधैं छ ।
विराटनगरमा वार्षिक ४० वटा आगलागीका घटना हुने गरेका छन् । गतवर्ष ४० घटना भएको तथ्यांक छ । चालु आर्थिक वर्षको चैतसम्ममा ३० वटा घटना भईसकेका छन् । तर, प्रदेशको राजधानी र प्रदेशमा एक मात्रै महानगरपालिकासँग जोडिएका छिमेकी पालिकाका लागि समेत यसले दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । जसमध्ये गतवर्ष ५८ आगलागी घटनामा महानगरपालिकाले नियन्त्रण सहायता प्रदान गरेको छ । चालु आर्थिक वर्षमा समेत २२ वटा आगलगाी घटनामा नियन्त्रण सहायता गरेको छ ।
कतिपय आगलगाी घटनामा मानवीय क्षति समेत भएका छन्, भौतिक क्षति पनि उस्तै छ । आगलागी नियन्त्रणका लागि प्रदेशको राजधानी विराटनगरमा चुस्त व्यवस्था नभएको आलोचना यहिंका घटना हुँदा सधैं हुन्छ । बढी हावा चल्ने मौसममा आगलागीको जोखिम हुन्छ । महानगरपालिकाको सधैं आलोचना हुने आगलागी नियन्त्रणमा सुस्त गतिलाई टार्ने विभिन्न उपाय अपनाउँदै आएको छ । त्यस अन्तर्गत विराटनगर–१० संसारीमाईस्थान र महानगरपालिका परिसरमा डिप बोरिङको प्रबन्ध मिलाएको थियो ।
विराटनगरमा कतै आगो लागे बारुणयन्त्र कार्यालय पुष्पलाल चौकबाट पानी भर्नुपर्ने समस्याको केहि हल खोजेको महानगरपालिकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्न ३५ स्थानमा फायर हाइड्रेन्ट राख्ने तयारी गरेको छ । त्यसको लागि विराटनगरमा जाइकाको अनुदान सहयोगमा निर्माणाधीन खानेपानी सुधार परियोजना अन्तर्गत दमकलमा पानी भर्न फायर हाइड्रेन्ट राख्न सम्झौता भएको हो । खानेपानी संस्थानसँगको यो सम्झौता अनुसार खानेपानी परियोजना विस्तार हुँदा विराटनगरका ३५ स्थानमा फायर हाइड्रेन्ट राखिनेछ । जहाँबाट दमकलले २४ सैं घण्टा पानी भर्नसक्ने सुविधा हुनेछ ।
महानगरपालिकाको ३५ स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिएपछि पानी बोकेर जाने ट्यांकरलाई पुनः भर्नका लागि सहज हुनेछ । पानी सकिए, फेरि अर्को ‘फायर ट्रक’ बोलाउनु पर्ने पहिलो चाहिँ पानी भर्न जानुपर्ने समस्या केहि हल हुनेछ । फायर हेड राखिएको स्थान नजिक हुँदा पानी भर्न लाग्ने समय दुरीका हिसाबले कम पर्न जानेछ । सडक र ट्राफिक अस्तव्यस्तलाई छिचोल्नुपर्ने बाध्यता कम पर्ने अनुमान छ ।
जाइकाको खानेपानी सुधार परियोजना विस्तारका क्रममा सडक छेउमा मोटो पाइप बाहिर निकालेर छोडिनेछ । मोटो पाइपलाई माथिबाट कचौरा आकारको फलामले ढाकेको हुन्छ । यसमा एकातिरबाट पाइप खोल्न मिल्ने ढकनी हुन्छ । यसलाई ‘फायर हाइड्रेन्ट भनिन्छ । यो फलामको समेत हुन्छ ।
महानगरपालिकामा कुनै बेला डिप बोरिङ गरेर यसरी पानीको स्रोतको प्रबन्ध मिलाइएको थियो । सडक विस्तारका क्रममा ती सबै हटाइएको छ । फाउर हाइड्रेन्टको मुख्य काम भनेको दमकललाई सक्दो छिटो पानी उपलब्ध गराउनु हो । यो पानीको सञ्जालसँगै जोडिन्छ । कतै आगलागी भएमा दमकलले यहाँबाट पानी निकालेर ट्यांकर भर्न सक्छ । सन् २०२६ सम्ममा खानेपानी पाइप विराटनगर १ देखि १४ नम्बर वडासम्म विस्तार भईसक्नेछ । त्यसपछि थप वडामा पानी विस्तार गर्ने योजनालाई लक्ष्यको रुपमा राखिएको छ । विदेशमा खानेपानीको पाइपसँगै आगो निभाउन प्रयोग हुने पानी भएको पाइप पनि जोडिन्छ । तर, महानगरपालिकामा अहिलेसम्म यस्तो सुविधा राखिएको पाइदैन ।
महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलले यसले महानगरपालिका भित्र पानीको अपर्याप्तालाई हटाउन सहयोग पुग्ने बताए । उनले खानेपानी विस्तारसँगै महानगरपालिका क्षेत्रमा राखिने यस्ता संरचनाले नगरवासीमा आसा थप्ने बताएका हुन् । पौडेलले आगलागीबाट हुनसक्ने क्षतिलाई कम गर्न सहज हुने समेत बताएका छन् ।