विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग प्राप्त गर्ने क्रम जारी रहेको छ । विराटनगरस्थित एभरेष्ट बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । एभरेष्ट बैंकले पहिलो चरणमा १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । सौन्दर्यकरण परियोजनाका लागि महानगरका तर्फबाट सहजीकरण गरिरहेका सरसफाई शाखा प्रमुख पुनम दाहाललाई बैंकका कोशी प्रदेश प्रमुख सुनिल गौतमले चेक हस्तान्तरण गरेका छन् ।
विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । एभरेष्टसहित १८ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३२ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, छिमेकी लघु वित्त वित्तीय र जीवन विकास लघु वित्त वित्तीय संस्थाले रमम जम्मा गरेका छन् ।