विराटनगर । मुन्धुम पदमार्ग अन्तर्गत भोजपुर र खोटाङको सीमा क्षेत्र चखिवामा भारतीय पर्यटकलाई कुटपिट भएको घटनाले कोशी पर्यटन वर्षको पहिलो गाँसमै ढुंगा लागेको छ । पर्यटन वर्ष उद्घाटन गरेकै बेला भारतमा नेपाल असुरक्षित रहेको भन्दै पीडितले सार्वजानिक भिडियोमार्फत जानकारी दिएका हुन् । भोजपुर सदरमुकाम आयोजित एक नृत्य प्रतियोगितामा भाग लिन आएका भारतीय भ्लगर रतुल रोक्सलाई मरनासन्न चार दिन अगाडी कुटिएका थिए ।
तेह्रथुमको तीनजुरे(मिल्केमा प्रदेश सरकारको लगानीमा ‘कोशी पर्यटन वर्ष(२०८२’ को उद्घाटन भएकै भोलिपल्ट भोजपुरमा यो गम्भीर आपराधिक घटना सार्वजनिक भएको हो । सन्तोष चाम्लिङ राईसहितका युवाले भोजपुरको चखियामा ती भारतीय युवालाई कुटपिट गरेपछि कोशी पर्यटन वर्षका लागि भारतबाट आउने पर्यटकमा नराम्रो सन्देश गएको हो ।
भारतीय भ्लगर तथा नृत्यकार रोक्सले भोजपुरबाट ज्यान बचाएर देश फर्किएको बताएका छन् । उनले उक्त घटनाको खुलासा गर्दै भिडियोमार्फत सार्वजानिक आह्वान समेत गरेका छन् । उनले आफूलाई ती सन्तोष नाममा युवासहित ६ जनाले ‘काले’ भन्दै वर्णविभेद गरेर बोलाएको बताएका छन् । भोजपुर सदरमुकामा आयोजित नृत्य प्रतियोगिता जितेर चखिया घुम्न निस्किएका रोक्सको अनुहार पूरै सुन्निने गरी कुटिएको भिडियोमा देख्न सकिन्छ ।
खासगरी टेम्के–मैयुङ गाउँपालिकाले मुन्धुम पदमार्गअन्तर्गत पर्ने चखियामा आन्तरिक र बाह्य पर्यटकका लागि लगानी गरिरहेको छ । यसअघि चखियामै कृषि महोत्सव पनि आयोजना गरिएको थियो । पर्यटक तान्ने कोसिस भइरहेका बेला भारतबाट घुम्न आएका युवालाई मादक पदार्थले मातेका युवाले मरनासन्न हुने गरि कुटेका हुन् ।
रोक्सले आफू कुटिएको कुराबारे ६ मिनेट भिडियोमा दुखेसोसहित नेपाल असुरक्षित रहेकाले कोही पनि नजानसमेत भनेका छन् ।उनले आफ्नो त्यहाँको अवस्था बारे जानकारी गराएका छन् । भनेका छन्–मेरो बाइक पञ्चर भएको थियो । ओरालोमा बिस्तारै झर्दैथियौँ । त्यहीबेला मलाई सन्तोष नाम गरेकासहितले मेरो हेल्मेट खोलेर कुटपिट गरे । अनुहार, छाति र शरीरमा मुक्का र लात्ती बर्साइयो । ‘मेरो शरीरमाथि उनीहरूले फुटबलझैँ लात्ती प्रहार गरे । पछि प्रहरी आएपछि पनि उनीहरूलाई केही गरेन । उनीहरूले प्रहरीकैसामु पनि मलाई कुट्ने धम्की दिए । शरण लिन होटल पुग्दा पनि अभद्र व्यवहार गरे, मलाई यहाँबाट निस्केर जान भने ।’
उनले नेपालको भूगोलमा भारतीय पर्यटक बनेर जानु नै आफ्नो गल्ती भएको दुखेसो गरेका छन् । घटनामा प्रहरीले समेत आफूलाई न्याय दिन नसकेको उनको गुनासो छ । उनले उक्त प्रकरणमा आफ्नो ज्यान बचाउन जीवन नामका एक युवकले भूमिका खेलेकोमा धन्यवाद दिएका छन् । यदि जीवन नामका युवक नभएको भए नेपालमै मारिने पनि उनले बताएका छन् ।
सबैभन्दा अचम्म त के छ भने चखिया पुगेको इलाका प्रहरी दिल्पाको टोलीले त कुटपिट गर्नेकै संरक्षण गर्यो नै, अझ मिलापत्रका नाममा उनीहरूलाई खुल्लै छाडियो । ती भारतीय युवा रोक्सले लिएको नाम र उनले सार्वजनिक गरेको भिडियोमा देखिएका युवा सन्तोष चाम्लिङ राई नेकपा एमाले भएको खुलेको छ ।
चखिया, ट्याम्के र मैयुङसहितलाई मुन्धु ट्रेलका रुपमा विकास गरेर पर्यटक तान्न संघर्ष गरिरहेका टेम्के मैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले यस प्रकरणमा शुक्रबार सार्वजनिक रुपमा माफी मागेका छन् । उता बृहत् मुन्धुम पदमार्गअन्तर्गत पर्ने भोजपुरकै हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले पनि यस प्रकरणमा माफी मागेका छन्।