विराटनगर । कोसी प्रदेशमा पर्यटन वर्ष घोषणा गरेर त्यसको कार्यक्रम कार्यन्वयनमा ल्याएको सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलनको तयारी गरेको छ । लगानी सम्मेलन तयारी बारे बुधबार आयोजित पत्रकार सम्मेलनमा एक खर्ब ३९ अर्बको प्रस्ताव गरिएको छ । यो लगानी प्रस्ताव ५४ वटा योजनाका लागि गरिएको हो ।
कोसी प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयले सबै तयारी पुरा भएको जानकारी दिइएको छ । सम्मेलनका संयोजक पवनकुमार तिम्सिनाले प्रदेशमा लगानीको वातावरण सिर्जना हुने दावी गरिएको छ । कोसी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाका अनुसार पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, उर्जा, सूचना प्रविधि र सहरी फोहोर व्यवस्थापनका सात क्षेत्र प्राथमिकतामा राखिएको जानकारी दिएका छन् । यी सात क्षेत्रका ५४ योजना लगानी सम्मेलनमा प्रस्तुत गरिनेछन् । संभावित लाभका कतिपय योजनाहरुमा वैशाख १९ गते समझदारी हुने दावी गरिएको छ ।
लगानी सम्मेलनमा पर्यटनका १५ योजना समेटिएका छन् । जसका लागि ३५ अर्ब ९७ करोड प्रस्ताव गरिएको छ । यसैगरी भौतिक पूर्वाधारका १४ योजनाका लागि ३१ अर्ब एक करोड, कृषि प्रशोधनका नौ योजनाका लागि तीन अर्ब आठ करोड, औद्योगिक विकासका नौ योजनाका लागि ६५ अर्ब ४० करोड, उर्जा विकासका तीन योजनाका लागि दुई अर्ब ७७ करोड, सूचना प्रविधिका दुई योजनाका लागि ४७ करोड र सहरी फोहोर व्यवस्थापनका दुई योजनाका लागि ६० करोड प्रस्ताव गरिएको लगानी प्राधिकरणका कार्यकारी निर्देशक कोइरालाले जानकारी दिएका छन् । यसैगरी प्रदेशमा हाल प्रगतिउन्मुख १५ वटा योजनालाई समेत प्राथमिकतामा छन्, जसको लागत ३१ अर्ब दुई करोड छ ।
काँच–ब्लक उत्पादन उद्योग, झापा–इटहरी टाउन प्रोजेक्ट, विद्युतीय यातायात मार्ग, सप्तकोसी रिसोर्ट, गुराँसका उत्पादन, दमक आईटी पार्क, धरान–मुलघाट ट्रंकलाइन, मकालु हिमाल टुरिजम प्रोजेक्टलगायत छन् ।
लगानीसम्मेलन सँगै लगानीको वातावरणका लागि सरकारले सहजीकरण गर्न कानुनलाई सुधार गर्ने र एकद्वार प्रणालीबाट कामहरु गराउने तयारी समेत थालेको छ । सातवटा ऐनलाई अध्यादेशमार्फत संशोधन गर्ने र एउटा नयाँ ऐन बनाउने आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यसलाई प्रदेशवासीको उपलब्धीको रुपमा रुपान्तरण गर्न सबैको पहल आवश्यक रहेको पत्रकार सम्मेलनमा बताएका छन् । लगानी सम्मेलनमा प्रस्तावित सबै योजना प्राथमिकतामा पर्दछन् भन्ने नभएपनि लाभका हिसाबले लगानी आकर्षण गर्न सकिने उनको बुझाई छ ।