विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका २ बाट छोरालाई पढाउन सुनसरीको इटहरी–२ स्थित हलगाडामा डेरा बस्दै आएकी चुनुकुमारी दाहाल बुढाथोकीको हत्याको योजना कोरियामा रोजगारीका लागि पुगेका उनकै पतिले बनाएको खुलेको छ । आफ्ना श्रीमान् कोरिया गएपछि करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि चुनुकुमारी इटहरी झरेकी थिइन् । उनको माइती महालक्ष्मी नगरपालिका १ मा पर्छ । तर, छोरा पढाउन उनी इटहरी आएपछि उनीमाथि विभिन्न आशंका खडा गर्दै श्रीमान्सहित घरपरिवारका सदस्य संलग्न रहेर हत्या गरेको खुलेको छ ।
सुनसरीको धरानस्थित जंगलमा मृत अवस्थामा फेला परेकी ३४ वर्षीया चुनुकुमारी दाहाल का श्रीमान प्रेमबहादुर बुढाथोकी कोरियामा थिए । उनले त्यहिंबाट यहाँ श्रीमतीको हत्या गर्ने योजना बनाएको र त्यसमा आफ्नै परिवारका सदस्यलाई संलग्न गराएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
कोरियाबाट प्रेमबहादुरले बनाएको योजना अनुसार उनका भाइ वर्ष २९ का ढकेन्द्र बुढाथोकीसहित ७ जनाको संलग्नतामा चुनुकुमारीको हत्या भएको खुलेपछि प्रहरीले छ जना आरोपीलाई पक्राउ गरेर सार्वजानिक गरेको छ । एकजना अझै फरार रहेका छन् ।
प्रहरीले प्रेमबहादुरका भाइ मोरङको पथरीशनिश्चरे ३ संगमचोकमा बस्दै आएका ढेकेन्द्र बुढाथोकी, ढेकेन्द्रकै पत्नी २५ वर्षीया सृष्टि बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका ७ घर भई हाल उर्लाबारी ५ मा बस्दै आएका प्रेमबहादुरका कान्छा ज्वाँइ योगेन्द्र गौतम, योगेन्द्र पत्नी २८ वर्षीय डेनु गौतम र पथरीशनिश्चरे ३ का वर्ष ४० का केशवराज दाहाललाई पक्राउ छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले उनीहरुको घटना संलग्नताको बारेमा जानकारी दिएका छन् । सातजनामध्ये छ जना आरोपी पक्राउ परेका छन् । जसमा चुनुका श्रीमान प्रेमबहादुरलाई समेत कोरियाबाट बोलाएर प्रहरीले नियन्त्रणमा लिइएको छ । हत्यामा संलग्न भारतको आसाम जिल्ला तेजपुरमा बस्दै आएका वर्ष ३५ का राजु थापा मगर फरार रहेका छन् । चुनुकुमारीको हत्यामा राजुको प्रत्यक्ष संलग्नता प्रहरीको ठम्याई छ । उनी फरार रहेकोले खोजी कार्यलाई जारी राखिएको छ । यो घटनामा भारतको आसामबाट राजुलाई हत्याकै लागि बोलाएको पाइएको छ । केही रकम दिने भनेर उनी आएको अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।
मंसिरमा आएर माघमा फर्केका थिए प्रेमबहादुर
प्रेमबहादुर वैदेशिक रोजगारमा कोरिया गएपछि श्रीमतीसँग खटपट सुरु भएको प्रहरीले बताएको छ । श्रीमती चुनुकुमारीलाई परपुरुषसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै परिवारले नै टर्चर दिदैं आएका थिए । पत्नीसँग सम्बन्ध विच्छेद माग्दै आएका प्रेमबहादुर कोरियाबाट गत मंसिर २७ मा घर आएर माघ ५ मा फर्केका थिए । त्यसबेला सम्बन्ध बिच्छेद मागेका प्रेमबहादुरलाई चुनुकुमारीले जवाफ दिएकी थिइनन् ।
त्यसपछि माघ ५ मा उनी कोरिया फर्केर हत्या योजना बनाउन थालेको खुलेको छ । पत्नीको हत्या गर्ने योजना भाइ ढकेन्द्रमार्फत परिवारमा सल्लाह लिएका थिए । त्यसका लागि भारतमा बस्दै आएका राजुलाई झिकाउने निर्णय भएको थियो । योजना अनुसार गत २४ चैतमा सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरामा रहेकी श्रीमती चुनुकुमारीलाई प्रेमबहादुरले फोन गरेका थिए । कोरियाबाट श्रीमतीलाई फोन गरेर भाइ ढेकेन्द्रलाई भेट्न केराबारी जान भने । त्यहि अनुसार चुनुकुमारी केराबारी गइन् । त्यहाँ राजु र प्रेमबहादुरका कान्छा ज्वाइँ योगेन्द्रसँग उनको भेट भएपछि प्रदेश १ –०२–०४३ प ६८६२ नम्बरको पल्सर मोटसाइकलमा बसेर केराबारी हुँदै पानमाराको जंगल लगिएको थियो । मोटरसाइकल योगन्द्रले चलाएका थिए । पञ्चकन्या सामुदायिक वनको घना जंगलमा पुगेपछि बाइक राखेर चुनुकुमारीमाथि निर्घात कुटपिट गरेर उनैले बोकेको ब्यागको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
प्रहरीले पाँच दिनपछि चैत २९ गते प्रेमको भाइ ढकेन्द्र, उनकी पत्नी सृष्टी, डोनु र केशवराज दाहाललाई पक्राउ गरेको थियो । त्यसपछि ३० चैतमा योगेन्द्र गौतम काँकडभिट्टा नाकाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसपछि परिवारसँगको समन्वयमा प्रेमलाई कोरियाबाट झिकाइएको थियो । उनी बुधबार कामाठडांैको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बिहीबार उनीहरुलाई सार्वजानिक गरिएको हो ।