प्रेम देवान
विराटनगर । कला, सिप र प्रतिभा भएर पनि सहि ठाँउमा प्रदर्शन गर्न नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै कोशी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा खोजी सुरु भएको छ ।
‘कोशी प्रदेशको सान , प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’ भन्ने नारा दिएर प्रतिभाहरुको खोजि कार्य सुरु भएको हो ।
राष्ट्रिय अपाङ्गता महासंघ नेपाल कोशी प्रदेशले विभिन्न सहयोगी सस्थाहरुसँग मिलेर अपाङ्गता भएका व्यक्तिहरुको कलाको सम्मान गर्दै यो कार्यक्रम अगाडी बढाएको विराटनगरमा आज(शुक्रबार) पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । अपाङ्गता भएका व्यक्तिहरुले कविता वाचन, वक्तृत्वकला, संगित तथा गायन, अभिनय/क्यारीकेचर, नृत्य, चित्रकला, हस्तकला, नवप्रवद्र्धन ईनोभेसन लगायत ९ वटा विधामा भाग लिन सकिने महासंघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । अपाङ्गता महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष नविनचन्द्र ढुङ्खेलका अनुसार अपाङ्ग व्यक्तिमा कला र प्रतिभा छ तर सहि ठाँउमा देखाउने अवसर नपाईरहेको अवस्थालाई हामीले एउटा राम्रो प्लेटफर्म उपलब्ध गराएको हौँ ।
यस कार्यक्रमका लागि प्रतिभाहरुको अहिले खोजीकार्य भईहेकोे छ,’ ढुङ्खेलले भन्नुभयो, ‘हामीसँग केही व्यक्तिहरु सम्पर्कना आईरहनुभएको छ, प्रतिभाहरुको खोजी कार्यलाई निरन्तर दिईरहेका छौँ।’ यो कार्यक्रममा सहभागी जनाउनको लागि ईच्छुक व्यक्तिले अनलाईन मार्फत पनि फर्म भरेर भाग लिन सक्ने व्यवस्था गरिएको अध्यक्ष ढुङ्खेलले जानकारी दिनुभयो । कार्यक्रम वैशाखको अन्तिम तिर विराटनगरमा गरिने महासंघले जनाएको छ । कार्यक्रम आयोजना गर्नको लागि करुणा फाउण्डेशन नेपाल , सामाजिक विकास मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायको सहकार्यक्रमा कार्यक्रम सुरु गरिएको महासंघले जनाएको छ । यस खालको कार्यक्रम कोशी प्रदेशमा पहिलो पटक आयोजना गरीएको महासंघको दावी छ । यस्ता कार्यक्रममा आगामी दिनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान अभिवृद्धि गर्दै समावेशी समाजको निर्माणमा ठुलो टेवा मिल्ने पनि देखिन्छ ।