विराटनगर । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलिप यादव र उनको समूहले 'श्रेष्ठ अनुसन्धान पत्र पुरस्कार २०२४' बाट सम्मानित भएका छन्।
डा. यादव विगत एक वर्षदेखि महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखको रूपमा कार्यरत छन्। उनी नेपाल जनस्वास्थ्य संघका आजीवन सदस्य तथा केन्द्रीय समितिका सदस्य समेत हुन्।
यो पुरस्कार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) द्वारा आयोजित ११औं 'National Summit of Health and Population Scientists in Nepal' कार्यक्रममा प्रदान गरिएको हो। उक्त सम्मेलनमा डा. यादव, गीता शाक्य र सुरक्षा श्रेष्ठको संयुक्त अनुसन्धान "Maternal and Neonatal Factors Associated with Neonatal Mortality: A Prospective Follow-Up Study in Selected Hospitals of Nepal" लाई उत्कृष्ट ठहर गर्दै सम्मान गरिएको हो।
यस अनुसन्धानले नेपालका विभिन्न अस्पतालहरूमा नवजात शिशु मृत्युका कारणहरू र आमासँग सम्बन्धित जोखिम तत्वहरूको पहिचान गरेको छ। नेपाल जनस्वास्थ्य संघ (NEPHA) ले एक प्रेस विज्ञप्ति जारी गर्दै डा. यादवलाई बधाई तथा शुभकामना दिएको छ। विज्ञप्तिमा जनस्वास्थ्यको नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनमा यस्तो अनुसन्धानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।