विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुन लागेको हो ।
विराटनगरको कञ्चजंघा पार्टी प्यालेसमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एमएम कप फाउन्डेसनले यसबारे जानकारी गराएको हो ।
आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गर्न लागिएको बताए ।
यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।
अध्यक्ष घोषका अनुसार आइसिसीको नियमबमोजिम ५० ओभरको उक्त प्रतियोगिता तीन विभागीय टोलीसहित ६ टिमको सहभागिता रहने छ ।
नेपाल पुलिस क्लब, आर्मी क्लब र एपिएफसहित कोशी र बागमती प्रदेश तथा भारतको आसाम क्रिकेट टिमले प्रतियोगिता खेल्ने छन् ।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् ।
१३ गते साविक विजेता टिम आर्मीले एपिएफको सामना गरेर प्रतियोगिताको थालनी हुने छ । प्रत्येक दिन एउटा खेल हुने सो प्रतियोगिताको फाइनल खेल २० गते हुने छ ।
प्रतियोगिताको विजेता टोलीले चार लाख रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले दुई लाख पाउने छ ।
साथै, प्लेयर अफ टुर्नामेन्टले २५ हजार, बेस्ट ब्याटर र बेस्ट बलरले १५-१५ हजार पाउने छन् भने प्रत्येक खेलका उत्कृष्ट खेलाडीले चार हजार रुपैयाँ पाउने छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, क्रिकेट संघ नेपाल (क्यान), विराटनगर महानगरपालिकालगायर सहयोगीको भूमिकामा रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड रकम खर्च हुने आयोजकको अनुमान छ ।