विराटनगरका बैंकमा पुग्छन् नक्कली नोट, प्रहरीलाई खबर नगरी मिल्छ साटाकसुटुक

<span class='c1'>विराटनगरका बैंकमा पुग्छन् नक्कली नोट,</span> <span class='c2'>प्रहरीलाई खबर नगरी मिल्छ साटाकसुटुक</span>

प्रेम देवान
विराटनगर । आज(बिहीबार) दिउँसो विराटनगरको कंचनबारीस्थित सिद्दार्थ बैंकको शाखामा पैसा जम्मा गर्न जाँदा एक लाखको बन्डलमा एक हजार रुपैँयाको एउटा नोट नक्कली भेटियो ।

विराटनगर ४ की कृष्णामाया पहाडीले ७ लाख पैसा जम्मा गर्न बैंकमा पुगेकी थिईन् । बैंकको क्यास काउन्टरमा क्यासियरले एउटा एक लाखको बन्डलमा एक हजारको नोट नक्कली रहेको जवाफ दिए । क्यासियरको जवाफ सुनेपछि कृष्णमाया छक्क परिन् । उनले छेउमा रहेका एक सेवाग्राहीलाई भनिन् । अब के गर्नुपर्ने मैले भन्दै छटपटाउन थालिन् । गुनासो सुनेका विराटनगर ३ का सन्तोष रेग्मीले भने आवर विराटनगरलाई खबर गरे । नक्कली नोट बैंकमा जम्मा हुने ठाउँसम्म पुगेको स्थानमा पुग्दा त्यसको पुष्टि भईसकेको थियो । सिद्दार्थ बैंकले एउटा नक्कली नोट रहेको भन्दै त्यसलाई छुट्टै राखिसकेको थियो ।

पहाडीले घरायसी कामका लागि सुन पसलमा केही गहना राखेर पैसा जम्मा गरेकी थिइन् । उनले विराटनगर रंगेली रोडमा रहेको राठी ज्वेलर्समा सुन राखेर रकम निकालेपछि बैंकमा जम्मा गर्न गएकी थिइन् ।
उक्त बन्डलमा नबिल बैंकको पेपरले ¥याप गरिएको थियो । क्यास काउन्टरमा पैसा गन्दा भेटिएको नक्कली पैसा बैंकले ग्राहकलाई दिएन । तर, त्यसको फोटो कपी गरेर दियो । भेटिएको नक्कली पैसा सिधैँ राष्ट्र बैंकमा बुझाउनु पर्ने भएका कारण ठगीएकी महिलालाई नदिएको जनाइएको छ । पहाडीले भने सुन पसलका सञ्चालकलाई नक्कली नोट भेटिएको जानकारी दिईसकेकी थिइन् ।

सुन व्यापारीले आउनुहोस् पसलमा के रहेछ ? म बुझ्छु भनेर पहाडीलाई बोलाए । नक्कली नोट बारे प्रहरीसम्म नपुग्दै साटाकसुटुक मिल्यो । सुन पसलमा पुगेकी उनलाई एक हजार रुपैयाँ दिएर हिसाब मिलान गरियो । प्रहरीलाई उजुरी दिन सम्बन्धित धनीले मानिन् । उनले झन्झट हुने भन्दै जहाँबाट क्यास प्राप्त भएको उहिँबाट भराइन् । उनलाई सुन पसलका सञ्चालकले नक्कली नोटको सट्टाभर्ना गरिदिएपछि चुप बसिन् ।

संस्थागत रुपमा बैंकमा पुगेको नक्कली नोट बारे प्रहरीलाई खबर गरिएन । सेवाग्राहीले लिएर गएको रकम नक्कली हुँदा बैंकले प्रहरीमार्फत कसरी यसको कारोबार भयो भन्ने खोजतलास गराउन समेत चाहेन । सेवाग्राही पहाडीले समेत नक्कली नोट परेको विषयमा प्रहरीसम्म खबर गरिनन् ।

यता सुन पसलले समेत नबिल बैंकको कभरसहितको रकमका बारेमा प्रहरीमा जानकारी दिन मनसाय राखेनन् । बजारमा त्यस बाहेक अन्य पनि नक्कली नोटको कारोबार भईरहेको संभावना अनुसन्धानको विषयबाट बाहिर रहन पुग्यो ।

भारतमा अहिले आईपिएल क्रिकेट प्रतियोगिता जारी छ । अवैध तथा स्रोत नखुलेको रकम प्रहरी नियन्त्रणमा पर्ने क्रम समेत जारी छ । भारतमा आईपिएल हुँदा विराटनगरमा सट्टेबाजले गर्ने अवैध कारोबारमा समेत नक्कली रकमको कारोबार हुने गरेको यदाकदा सुन्ने गरिन्छ । यस्तो बेला समेत प्रहरीसम्म कसैले पु¥याउन चासो नदिनुले नक्कली नोटको कारोबारमा पश्रय पुग्ने कतिपयको बुझाई छ ।

बेला बेलामा बजार क्षेत्रमा नक्कली नोट साटफेर हुने गतिविधि तीव्र बन्दै गइरहेको भएता पनि थुप्रै व्यापारी र उपभोक्ताले नक्कली पैसाको बारेमा प्रहरीमा उजुरी नगर्ने प्रवृति बढ्दै गएको देखिन्छ । यसले गर्दा नक्कली पैसाको कारोबार गर्नेहरुलाई मनोबल बढेको स्पष्ट हुन्छ । विशेषगरी भीडभाड हुने बजार क्षेत्रमा कारोबारको बेलामा ५०० र १०० रुपैयाँ दरका नक्कली नोट भेटिने गरेको उपभोक्ताहरूको गुनासो छ । तर, यस्ता घटना भए पनि पीडितहरूले प्रहरीमा उजुरी गर्न हिचकिचाउने गरेका छन्। कतिपयलाई झन्झटको डर, कतिपयलाई प्रक्रियाको जानकारी नहुनु वा विश्वास नहुनु कारण देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशीका अनुसार नक्कली नोटको कारोबार बारे उजुरी अहिलेसम्म आएको छैन ।

नक्कली नोटको प्रयोग आपराधिक हो र हामी अनुसन्धान गर्छौं, तर पीडितले नै उजुरी नगरेपछि हामीसँग कारबाहीको आधार रहँदैन, प्रवक्ता जोशी भने । वित्तीय सुरक्षासँग जोडिएको यो समस्यालाई सम्बोधन गर्न प्रहरीले सर्वसाधारणलाई सतर्क रहन, कारोबारको बेलामा नोट चेक गर्न र नक्कली पैसा भेटिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।

उता राष्ट्र बैंक विराटनगर शाखाका प्रवक्ता लक्ष्मी प्रसाद तिम्सीनाका अनुसार बेला बेलामा विभिन्न बैंकहरुमा नक्कली पैसा फेला पर्ने गरेको छ । बैकहरुले संकलन गरेर राष्ट्र बैंकमा बुझाउने गरेको बताए । त्यहाँ पुगेपछि नक्कली हो की हैन भनि प्रमाणित गर्ने प्रक्रियामा जाने गरेको बताए । सेवाग्राहीले जम्मा गरेको रकम नक्कली नभए त्यसले मान्यता पाएर सेवाग्राहीसम्म पुग्ने गरेको छ । नक्कली भएको भए खोजतालस गरिने गरिएको तिम्सिनाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्