विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाको निर्वाचनमा अध्यक्षका प्रत्यासी लालमणी भट्टराईले उठाएका मागको सम्बोधन गर्दै निर्वाचनका कार्यक्रम अगाडी बढाउने सहमति गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार सम्पन्न सर्वपक्षीय बैठकले मागनढ खानेपानी उपभोक्ता समितिको निर्वाचन आगामी जेठ १० गते सम्पन्न गर्नका लागि स्थान तथा त्यहाँको व्यवस्थापनको विषयमा सहमति जुटाएको हो ।
गतवर्ष जेठ १९ गते भईरहेको निर्वाचन स्थगीत भएर अदालतमा पुगेको थियो । उच्च अदालत विराटनगरले फागुन ११ गते पुनः मतदान गराउन फैसला गरेको थियो । त्यस क्रममा २०८१ जेठ १९ गते विहान ९ बजेदेखिको प्रक्रिया सुरु गर्न भनिएको थियो । जसको आधारमा उमेदवार उहि र मतदाता समेत उनी राखेर मतदान मात्रै नयाँ गर्नुपर्ने अवस्थामा छ ।
तदर्थ समिति तथा व्यवस्थापन पक्षलाई एक महिना अगाडी निर्वाचनको मिति तोक्नेसहित विभिन्न माग राखेर ध्यानाकर्षण भट्टराई समुहले बुझाएको थियो । यो एक महिनाको अवधीमा निर्वाचन मितिदेखि निर्वाचनका लागि हुनुपर्ने सहजीकरण र व्यवस्थापनका सबै प्रक्रिया अध्यक्षका प्रत्यासी भट्टराईले उठाएका मागका आधारमा गर्ने सहमति भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलबाट निकालिएको निष्कर्षहरुमा उच्च अदालत बार एशोसिएशनबाट प्राप्त हुने तीन सदस्यी पदाधिकारीबाट निर्वाचन समिति गठन गर्ने, मतदानस्थल विराटनगर १ स्थित ल क्याम्पसलाई बनाउने र मतदानको समय बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम राख्ने सहमति भएको छ ।
यसैगरी प्रत्येक वडाका मतदाताका लागि छुट्टाछुट्टै मतदान केन्द्र र ती केन्द्रमा महिला÷पुरुष अलग–अलग लाइन राख्ने सहमति भएको छ । मतदाताका लागि डिजिटल मतदाता परिपत्रपत्र उपलब्ध गराउने, यसको वितरण संस्थाको कार्यालय र वडाहरुबाट उपलब्ध गराउने उल्लेख छ । मतदानमा सरकारी फोटोसहितको कागजात र संस्थाले वितरण गरेको मतदाता परिचयपत्र दुवै अनिवार्य आवश्यक पर्ने सहमति समेत गरिएको छ ।
निर्वाचन समितिलाई खानेपानी संस्था, वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहयोग गर्ने, निर्वाचन अवधीभर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने र निर्वाचनको समन्वय तथा अनुगमन गर्ने समेत सहमति भएको छ ।
अध्यक्षका उमेदवार लालमणी भट्ट्राई प्यानलले यस अगाडी निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनु पर्ने, मतदानमा सरिक हुनेहरुलाई सहज हुने गरी व्यवस्थापन गर्नुपर्ने, मतदाता परिचयपत्र विश्वासयोग्य हुनुपर्ने माग राखेको थियो । अध्यक्षका उमेदवार भट्टराई प्यानलकाका उपाध्यक्ष पदका उमेदवार बुद्धिप्रसाद पौडेल, सावित्राकुमार न्यौपाने, सचिवका प्रदिपकुमार नेपाल, कोषाध्यक्ष हिरण्य निरौलासहित सदस्य पदका उमेदवारहरु तुलसीप्रसाद दाहाल, शान्ति बस्नेत, टंक पाठक र अन्जु तिम्सिना कटुवालको उपस्थितिमा तदर्स समितिका संयोजक तथा अध्यक्षका प्रत्यासी राम घिमिरेलाई बुझाएको ध्यानाकर्षण पत्र नै कार्यन्वयन गर्ने गरि निर्वाचनको तयारी गर्ने सहमति भएको हो । मानगढ खानेपानीमा भट्टराईसहित अहिलेका तदर्थ समितिका अध्यक्ष राम घिमिरे र दुर्गा चापागाँई अध्यक्षका उमेदवार रहेका छन् । झण्डै छ हजार आसपास मतदाता रहेका छन् ।