विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाको रानी–ढाटसम्मको कालोपत्रे सडकमा सधैं सवारी मच्चिदै गुड्छन् । राजमार्गको वार्षिक मर्मत नहुँदा कालोपत्रे चिप्लिएर डाँडापाखा बनेको छ ।
रोडशेषदेखि दक्षिणतर्फको सडक एक पटक मर्मत गरिएको थियो । रोडशेष उत्तर बरगाछीसम्मको सडक गतवर्ष मर्मत गरियो । बरगाछी आसपासमा सडकको स्थितिले दुर्घटना जोखिम बढेको भन्दै विरोध भएपछि मर्मत गरिएको थियो । तर, मर्मत गरेको क्षेत्र पुनः चर्किन थालेको छ । मर्मत गरे बाहेकको कालोपत्रेमा समेत जताततै अलकत्राको डल्लो परेर डाँडापाखा बनेको छ ।
औद्योगिक क्षेत्रका मालवस्तु बोकेर आउने सवारीको भार अधिक हुँदा सडकले वजन थाम्न सक्दैन । बारम्बार सडक भासिने स्थिति हुने गरेको छ । छलेन सडकको केन्द्रदेखि पश्चिमतर्फको तीनलेनमा यसको धेरै समस्या देखिने गरेको छ । अझै डिभाइडर नजिकको एक लेन सबैभन्दा धेरै कच्याककुचुक परेको छ ।
विराटनगर भन्सार कार्यालय हुँदै दैनिक ३०० मालवहाक सवारी औद्योगिक तथा व्यापारिक वस्तु लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । भन्सार जाँचपासपछि मालवहाक सवारी, सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रको कच्चा तथा व्यापारिक प्रयोजनका वस्तु गन्तव्यसम्म छोड्छन् । यसमध्ये स्टील उद्योगको कच्चा बोकेका मालवहाक सवारीले ९० टनसम्म भार बोकेर सडकमा गुड्दा दश टन भार थाम्ने सडकको कालोपत्रे चिप्लिएर डाँडापाखा हुने गरेका हुन् ।
बल्क कार्गोमा आएका फलाम उद्योगका सामान बोकेका मालवहाकको भारवहन ९० टनसम्म हुने गरेका छन् । न्यूनतम १० टनदेखि अधिकतम ९० टनसम्मका गाडी भित्रने गरेपछि सडकले भार वहन क्षमता थेग्न सक्दैन । आईसिपी क्षेत्रदेखि कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडक समेत अहिले यस्तै स्थितिमा छ । आईसिपी र कोशी राजमार्गको लिंक रोडसहित कोशी राजमार्ग हुँदै सुनसरी–मोरङ औद्योगिक करिडोरसम्म पुग्ने मालवहाक सवारी गुडेरको सडकमा डोप बन्ने गरेका छन् ।
कोशी राजमार्गका भारवहन क्षमता गाडीको एक्सलदेखि एक्सलसम्म दश टन मात्रै छ । सडकले थेग्नसक्ने भार भन्दा अधिक सवारीको भार भएका कारण मर्मतले मात्रै पनि सडकले थेग्न सक्ने अवस्था नभएको हो । छलेन सडकका इन्जिनियर एवं सुचना अधिकारी दुर्गा मण्डलका अनुसार पिरियोडिक मेन्टेनेन्स समेत नहुँदा यो समस्या बारम्बार हुने गरेको छ । अर्को कुरा भार थेग्नुपर्ने भन्दा अधिक भार बोकेका सवारीका कारण यो समस्या भईरहेको छ ।
छलेन सडक आयोजनाका इन्जिनियर मण्डलले कोशी राजमार्ग अन्तर्गत विराटनगर–१८ को आईसीपी प्रवेश बिन्दुदेखि बुढिगंगाको नेमुवासम्मको सडकमा समस्या बारम्बार देखा पर्ने बताउनुभयो । उहाँले सडकको केन्द्रभागदेखि पूर्वतर्फको तीनलेनमा समस्या नभएको तर पश्चिमतर्फको खण्डमा समस्या बारम्बार दोहोरिने गरेको बताउनुभयो । त्यसको मतलव औद्योगिक कच्चा बोकेका मालवहाक सवारीको अधिक भार नै समस्या रहेको उहाँको बुझाई छ ।
छलेन सडक अन्तर्गत रानी–धरानको ४९ किलोमिटरमध्ये काम चालु रहेको ४२ किलोमिटरमा ३५ किलोमिटर काम सम्पन्न भईसकेको छ । बाँकी सात किलोमिटरमध्ये धरानको सेउतीदेखि तीनकुनेसम्मको पाँच किलोमिटर अन्तिम चरणमा र सुनसरीको दुहबी बजार क्षेत्रको ढेड किलोमिटर प्रारम्भिक चरणमा रहेको छ । छलेन आयोजनाले अब सडक डिभिजन कार्यालय विराटनगर मातहतमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको मण्डलले जानकारी दिनुभयो । डिभिजन सडक मातहत आएपछि त्यसको वार्षिक मर्मतमा सहज हुने उहाँले बताउनुभयो ।