विराटनगर । विराटनगरको जुटमिल खेल मैदानमा वैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म कोशी प्रदेश स्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ ।
मिल्स भेट्रान्स क्लब रानी, विराटनगरको आयोजनामा हुने उक्त प्रतियोगिता बारे आज(शुक्रबार)एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
प्रतियोगिताको संयोजक तथा विराटनगर १५ का वडा अध्यक्ष प्रकाश शाहका अनुसार प्रतियोगितामा कोशी प्रदेशभरिको १२ वटा भेट्रान्स फुटबल टोलीहरूको सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन खेल युनाइटेड भेट्रान्स विराटनगर र हाम्रो धरान भेट्रान्स क्लब, त्यसैगरी मनिङ्ख भेट्रान्स विराटनगर र कन्काई भेट्रान्स झापा बीच हुने क्लबका अध्यक्ष इन्द्रराज थापा (राजु ) ले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कार स्वरूप पाउनेछ। खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने दैनिक ‘म्यान अफ द म्याच’ खेलाडीलाई नगद ११०० रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
प्रतियोगितामा सहभागी टोलीहरूमा मोरङ जिल्लाबाट मिल्स भेट्रान्स क्लब (क) र (ख), मोर्निङ्ग भेट्रान्स क्लब, युनाईटेड भेट्रान्स क्लब, विराट भेट्रान्स क्लब सुन्दर हरैचा, पथरी शनिश्चरे भेट्रान्स क्लब तथा उर्लाबारी भेट्रान्स क्लब रहेका छन्। झापा जिल्लाबाट कन्काई भेट्रान्स क्लब सुरुङ्गा सहभागी हुने छ भने सुनसरी जिल्लाबाट हाम्रो धरान भेट्रान्स क्लब, धरान पूर्वेले भेट्रान्स क्लब, भरौल भेट्रान्स क्लब बराहक्षेत्र तथा रामधुनी भेट्रान्स क्लब झुम्का सहभागी हुनेछन्।
क्लबका अध्यक्ष थापा अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य रानी क्षेत्र र वरपरका क्षेत्रमा फुटबल खेलप्रतिको जागरुकता बढाउने, खेलाडीहरूको प्रतिभा उजागर गर्ने, फुटबल प्रेमीहरूलाई स्वास्थ्य र मनोरञ्जन प्रदान गर्नुका साथै रानी क्षेत्रको फुटबल पूर्वाधार विकासमा सहयोग पु¥याउनु हो। क्लबले खेलकुद मैदानको स्थायी व्यवस्थाका लागि सम्बन्धित सरकारी निकायहरूसँग पहल र पत्राचार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
प्रतियोगिता माध्यमबाट योग्य र सक्षम खेलाडीहरूको पहिचान, उत्पादन तथा अभिमुखीकरण तालिम सञ्चालन गरी प्रदेशस्तरमा फुटबल खेलको स्तर अभिवृद्धि गर्ने क्लबको योजना छ। साथै, यस प्रतियोगिताबाट रानी क्षेत्रको फुटबललाई विशिष्ट पहिचान दिलाउने अपेक्षा गरिएको छ।
स्थानीय तहको सक्रिय सहभागिता, खेलप्रेमी जनसमुदायको उत्साहजनक उपस्थिति र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले प्रतियोगिता सफल हुनेमा आयोजक विश्वस्त छन् ।