विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराँते महासंघ कोशीको समानान्तर समिति गठन गरेपछि विवाद सिर्जना भएको छ । बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एमालेको भर्तिकेन्द्र बनाउने गरी कराँते महासंघको वैधानिक समिति हुँदाहुँदै तदर्थ समिति गरेका हुन् ।
वैधानिक समितिलाई बोर्डमा दर्ता गर्न रोकेर तदर्थ समिति गठन गरिएकोमा विरोध सुरु भएको छ ।
कराँते महासंघ कोशी प्रदेश कार्यसमितिले आज(सोमबार) प्रेस विज्ञप्ति जारी गरेरै प्रदेश खेलकुद विकास बोर्डप्रति आक्रोश व्यक्त गरेको छ ।
लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित समितिलाई सोध्दै नसोधी तदर्थ समिति गठन गरिनु पूर्वाग्रहपूर्ण व्यवहार हो, कराँते महासंघ कोशीका सचिव राम लिम्बूले भने–राष्ट्रिय कराँते महासंघले समेत मान्यता दिएको समितिलाई बाइपास गरेर बोर्डका सदस्य सचिवले आफ्नो गुट स्थापीत गर्ने प्रयास गरेका छन् ।
‘प्रदेश खेलकुद बोर्डका सदस्य सचिवले आफ्नो पदको दुरुपयोग गरेर खेलकुद क्षेत्रमा आफ्नो गुट स्थापित गर्ने कुचेष्टा गरेका छन् ।’ सचिव लिम्बुले भने–वैधानिक समितिलाई नसोध्नु अनि तदर्थ समिति गठन गर्नुले यहि देखाएको छ ।
कराते महासंघ राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार विधिवत् रूपमा कार्य गरिरहेको र नेपाल कराँते महासंघबाट समेत मिति २०८२ वैशाख २८ गतेको पत्रमार्फत कुबिरमान राई अध्यक्ष र राम लिम्बू सचिव रहेको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको जानकारी दिएको छ ।
महासंघका पदाधिकारीहरूले बोर्डमा पटक–पटक दर्ता प्रक्रियाका लागि पहल गर्दा समेत सदस्य सचिव बस्नेतले जानाजानी अवरोध गरेको आरोप छ । आधिकारिक समितिलाई दर्ता गर्न अस्वीकार गरेर विवाद रहेको भन्दै तदर्थ समिति गठन गर्नुले खेलकुद क्षेत्र डामाडोल बनाउने षड्यन्त्र मान्नुपर्ने लिम्बुको बुझाई छ ।
हाल कुबिरमान राई अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्षद्वय सौरभ प्रधान, अनिल नेपाल, सचिव राम लिम्बु, कोषाध्यक्ष अनुशा विष्ट रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता तामाङ्ग, लोकेन्द राई, योगेन्द्र आचार्य, रेनुका राई, कमिक राई, मिलन कसजु, बिप्लव राई र मेनुका ठाकुर रहेका छन् ।
बोर्डका सदस्य सचिव बस्नेतले वैशाख २४ गते नेपाल कराँते महासंघ कोशी प्रदेशको तदर्थ समितिको संयोजक प्रभाकर राना (रिक्की) लाई तोकेका छन् । रिक्की एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ मोरङ उपाध्यक्ष हुन् । तदर्थ समिति घोषणा गर्ने सदस्य सचिव बस्नेत नेपाल खेलकुल महासंघको केन्द्रीय अध्यक्ष समेत हुन् ।
एकलौटी तदर्थ समिति गठन नसच्याएमा कानुनी उपचार खोज्ने तयारी कराँते महासंघले गरेको छ । खेलक्षेत्रमा सदस्य सचिव बस्नेतले चौतर्फी हस्तक्षेप गरेको भन्दै यसको चौतर्फी विरोध सुरु भएको छ।