प्रेम देवान
विराटनगर । विराटनगरमा रहेका किरात समुदायले प्रमुख चाडको रुपमा मान्दै आएको साकेला (उभौली) पर्व भव्य रुपमा मनाएका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित साकेलाथानमा विराटनगरमा रहेका राई लिम्बु र याक्खाहरुले पितृ तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस, रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति नआओस भन्ने कामनासहित उभौली पर्व मनाएका हुन् ।
एक महिना सम्म मनाईने साकेला (उभौली) पर्व मोरङको विभिन्न ठाँउ र बस्तीहरुमा बसोबास गर्दै आएका किरातीहरुले यो पर्वलाई विशेष रुपमा मनाउने गर्दछन् । विराटनगरको साकेलाथानबाट सुरु भएको उभौली पर्वलाई एक महिना सम्म विभिन्न ठाँउहरुमा पुगेर मनाउने तयारी रहेको किरात राई यायोक्खा नगर परिषदकी अध्यक्ष विष्णु राईले जानकारी दिनुभयो ।
साकेलाथान विराटनगरमा सोमबार किरात समुदायको मात्र नभएर अन्य समुदायका युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला सिली नाचेका थिए ।
मोरङको बेलबारीबाट आएका किराती कलाकारहरुको उपस्थितीले त झनै त्यहाको माहोल आर्कषित बनाएको थियो । बर्षमा दुईपटक मनाईने पर्वमा विशेषगरी किराती समुदायले आफ्नो सस्कार सस्कृती झल्किने पोसाकमा सजिएर आएका थिए ।
किरात राई यायोक्खा सामुहिक चुल्हो भवनको परिसरमा ढोलझ्याम्टा , चौरीको पुछर टाउको सेतो फेटा र कम्बरमा पुटुकी वाधी गोलो घेरा लगाई साकेला सिली नाच प्रस्तुत गरेका थिए । साकेला उभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात् वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ ।