प्रेम देवान
विराटनगर । मोरङको कटहरी गाँउपालिका २ आर्दशटोलका प्रेम शर्मा भर्खर २१ बर्षका मात्र भए । उनी विराटनगरको शिक्षादिप कलेजबाट १२ सकेर आर्ट ग्यालेरीको काम गर्दै आएका छन् । सुरु सुरुमा युटुवहरुमा हेरेर आर्ट तथा पेन्टिङ गर्न सिके । उनको सपना अब यही पेन्टिङलाई पेसा बनाउने छ । देशमै राम्रो आम्दानीको स्रोत बनाउने लक्ष्य उनले राखेका छन् । हुन त उनी सानैदेखी स्कुल तथा कलेजहरुमा पनि चित्रकला प्रतियोगिताहरुमा भाग लिने गर्दथे । उनले बनाएका चित्रहरु उत्कृष्ट भएर धेरै पुरस्कारहरु पाएका छन् ।
शर्माले अहिले विराटनगरमा व्यावसायिक रुपमा आर्टलाई राम्रो आम्दानीको स्रोत बनाउन तिर लागि परेका छन् । उनले विराटनगर ७ स्थित एक घरको सटर भाडामा लिएर कार्यालय तथा आर्टको लागि इन्स्टिच्युट नै संचालनमा ल्याएका छन् । उनले स्थानिय निकाय तथा सम्बन्धित ठाँउमा कागजात प्रकृया पुरा गरी बालबालिकाहरुलाई आर्ट सिकाउनका लागि आर्ट इन्स्टिच्युट संचालनमा ल्याएका हुन् ।
उनले मुलुकका चर्चित तथा लोकप्रिय मानिएका व्यत्तित्वहरुको आर्ट गरेर बिक्री गरेका छन् भने, कतिपयलाई मायाको चिनोको रुपमा प्रदान गरिसकेका छन् । उनले काठमाण्डौंका मेयर बालेन साह, धरानका मेयर हर्कराज साम्पाङ, क्रिकेटर सन्दिप लामिछाने , गायिका एलिना चौहान, सविन राई , दुर्गेस थापा ,भाईरल टिकटकर एलिजा लगायत सास्कृतिक झल्कने विषय तथा भगवानका फोटोहरु जस्ताको त्यस्तै आर्ट गर्ने गरेका छन् । केहीदिन अघि मात्रै विराटनगर आएका दुर्गेस थापाको पनि आर्ट गरी कार्यक्रममा नै पुगेर फोटो फेम पनि प्रदान गरे ।
पछिल्लो समय नेपाली युवाहरुबीच आर्ट तथा सिर्जनात्मक कलाप्रति अभूतपूर्व आकर्षण देखिएको छ । परम्परागत कला अहिले पेसागत सम्भावनाको रूपमा उदाउँदै गएको छ । विशेष गरी सामाजिक सञ्जालको विस्तार, डिजिटल प्रविधिको पहुँच र अन्तर्राष्ट्रिय कला बजारको खुलापनले गर्दा नेपाली युवाहरु आर्टलाई अब स्थायी करियरको रूपमा लिँन थालेका छन् । विराटनगरमा प्रेम जस्तै अन्य आधा दर्जन बढी युवाहरु छन् ।
अनलाइन प्लेटफर्महरूबाट देश तथा विदेशहरुबाट समेत अर्डरहरु आउने गरेको शर्मा बताउछन् । विशेषगरी व्यक्तिगत, परिवारिक, प्रियजनहरुको फोटोहरु आर्टमा उतारदिन आग्रह गर्छन् शर्मा भन्छन् , मलाई नेपाल मात्र नभएर जापान साउथ कोरिया,अमेरिका दुवही, अष्ट्रेलिया, भारत जस्ता देशहरुबाट पनि अनलाईन मार्फत अर्डर आउने गर्दछ,’उहाँहरुले फोटोहरु पठाउनुहुन्छ, म त्यसलाई आर्ट गर्ने गरेको छु, मलाई अनलाईन नै पेमेन्ट गर्नुहुन्छ म कुरियर गरेर पठाउने गर्दछु।’
शर्माले अहिले आर्ट सेन्टरमा बालबालिकाहरुलाई आर्टको कक्षा संचालन पनि गरिरहेका छन् । विभिन्न विद्यालय स्तरका विद्यार्थीहरुलाई बेसिकदेखी एड्भान्स कोर्षको कक्षा संचालन गर्ने गरेको शर्माले बताए । अहिलेका बालबालिकाहरुको ध्यान मोवाईल तथा ईन्टरनेटमा व्यास्त हुने हुदाँ उनीहरुको ध्यान मोवाईलमा भन्दा यस्ता अतिरिक्त क्रियाकलापमा जाओस भनेर पनि विशेष गरी बालबालिकाहरुलाई आर्ट सिकाउने गरेको उनले सुनाए । आफुलाई आर्ट गर्नाले आनन्द दिने भएकाले पनि भविष्यमा यही पेशा बनाउने उनको योजना रहेको बताउछन् ।